काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लिलामीमा राखेको सेयरमा बोलपत्र पेस गर्ने आज साउन २९ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत साउन १५ गतेबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसअघि कम्पनीले गत असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामीमा राखेको थियो। त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले पुनः लिलामीमा राखेको हो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।

यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन्।