काठमाण्डौ । खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्ससँग साझेदारी गरेको छ। 

अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् र यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ।

यसअघि क्यूएफएक्सको मुभी टिकट खरिद क्यूएफएक्सकै वेबसाइट लगइन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारीपश्चात खल्ती प्रयोगकर्ताले सीधै खल्ती एपमार्फत मुभी टिकट खरिद गर्न सक्नेछन्। 

यसका साथै क्यूएफएक्सको एप/वेबबाट पनि टिकट खरिद गरी खल्तीबाट पनि भुक्तानी गर्न सकिनेछ। 

खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स  हल, समय र सिट सजिलै केही ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरेपश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ। यसका साथै खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीलाई हामी हरेक नेपालीको जीवनशैलीका रुपमा स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको छौँ। मनोरञ्जन क्षेत्रमा पनि क्यूएफएक्सजस्तो प्रचलित सिनेमा हलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ। खल्ती र क्यूएफएक्सबीचको यस साझेदारीले मुभी टिकट खरिद प्रक्रियालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरुमाझ निकै हर्ष छाउने आशा राख्दछौँ।’

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ। करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताका साथमा ५० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ता बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी सेवा दिँदै आएको छ। यतिमात्र नभई विभिन्न साना तथा ठूला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिई आएको छ।