काठमाण्डौ । अन्तर्वार्ताका क्रममा एक महिलाको उमेर सोध्दा डोमिनोज कम्पनीले जरिवाना तिर्नुपरेको छ। यसका लागि कम्पनीले ती महिलालाई ४ हजार २५० पाउन्ड (करिब साढे ६ लाख रुपैयाँ) क्षतिपूर्ति दिनुपरेको हो। 

बीबीसीका अनुसार उत्तरी आयरल्यान्डमा बस्ने जेनिस वाल्स नामकी एक महिलाले डोमिनोजमा पिज्जा डेलिभरी ड्राइभरको जागिरका लागि आवेदन दिएकी थिइन्।

काउन्टी टायरोनको स्ट्रबेनमा डोमिनोज पिज्जा फ्रान्चाइजीसँगको अन्तर्वार्तामा जेनिसलाई उनको उमेर सोधिएको थियो। जेनिस वाल्सका अनुसार उनको उमेर र महिला भएकाले उनलाई यो कामका लागि छनोट गरिएन। 

जागिरका लागि छनोट नभएपछि जेनिसले आफूले भोग्नुपरेको भेदभावबारे स्टोरलाई फेसबुक म्यासेज पठाइन् । यसपछि अन्तर्वार्ताकारले उनलाई फोन गरेर माफी मागे । उनले जागिरको अन्तर्वार्तामा कसैको उमेर सोध्नु गलत हो भन्ने आफूलाई थाहा नभएको बताए।

जेनिसले स्ट्राउबेन फ्रान्चाइजी र यसको अघिल्लो मालिक जस्टिन क्विर्कलाई भेदभावको आरोप लगाएकी थिइन्। त्यसपछि क्विर्कले जेनिसलाई ४ हजार २५० पाउन्ड क्षतिपूर्ति दिने प्रस्ताव गरे र घटनालाई लिएर माफी मागे।

जागिर नपाएपछि जेनिसले अर्को डोमिनोको कर्मचारीबाट १८ देखि ३० वर्ष उमेर समूहका मानिसलाई यो कामका लागि उपयुक्त मानिन्छ भन्ने कुरा थाहा पाएकी थिइन्। यसका साथै उनले चालकको काम पुरुषले मात्र गरेको देखेको र यस्तो अवस्थामा महिला भएकाले आफूलाई काम नदिइएको उनले अनुभूति गरेकी थिइन्। 

त्यसपछि जेनिसले उत्तरी आयरल्यान्ड समानता आयोगमा यस विषयमा मुद्दा दायर गरिन्। आयोगले उनको पक्षमा फैसला गर्दै क्षतिपूर्ति दिन कम्पनीलाई आवेदन दिएको थियो। –एजेन्सी