काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आइरहेकै बेला भारतीय आयल कर्पोरेसन (आईओसी)ले भने नेपाल आयल निगमलाई बढाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। 

आईओसीले आज बिहीबारबाट लागू हुने गरी निगमलाई नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल १.३९ रुपैयाँ र डिजेल ६.१२ रुपैयाँ बढेको छ। 

अब निगमले नयाँ मूल्यसूचीअनुसार आईओसीसँग पेट्रोलिपदार्थ खरिद गर्नुपर्ने हुन्छ। नयाँ मूल्यअनुसार निगमलाई डिजेलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ भने पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा झरेको छ। 

आयल निगमका अनुसार मट्टीतेल र हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आएको छ। 

अब निगमको पाक्षित (१५ दिनको) नोक्सानी करिब ५० करोड पुग्नेछ। 

यसअघि तीन पटकसम्म आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो। तर निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थिए। 

अब भारतबाट पेट्रोलियम पदार्थ मूल्य सामान्य बढेर आएको छ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत रहन सक्ने निगम स्रोत बताउँछ।