– रेखा चन्द

काठमाण्डौ । अर्थमन्त्री जनार्दशन शर्माले बैंक ब्याजदरमा गम्भीर ध्यानार्षण भएको बताएका छन्। 

काठमाण्डौको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाडा ईभी एक्सोको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले ब्याजदरका विषयमा उठिरहेका कुराप्रति आफ्नो ध्याकर्षण भएको बताएका हुन्। ‘जुन देशका बैंकहरुमा पैसा राखेर १३ प्रतिशत, १४ प्रतिशत र १५ प्रतिशतसम्म आम्दानी लिन पाइन्छ भने त्यो देशमा उत्पादन हुन्छ ?’, प्रश्न गर्दै उनले भने, ‘पक्कै पनि हुँदैन। यहीँनेर समस्या आएको हो। यो समस्यालाई हल गर्नुपर्छ।’

‘जुन उद्योगमा पैसा लगाउँदाबाट ४ प्रतिशत वा १० प्रतिशत आउला, अनि किन उद्योगमा पैसा लगाउने ?’, प्रश्न गर्दै अर्थमन्त्री शर्माले भने, ‘जग्गामा पैसा लगाउँदा दोब्बर आम्दानी होला अनि किन उत्पादनमूलक क्षेत्रमा लगाउने ?’

ब्याजदरका सम्बन्धमा बनेका नीतिहरु कडाइका साथ कार्यान्वयन गर्नुपर्ने शर्माले बताए। ‘ब्याजदरका सन्दर्भमा सम्बन्धित निकाय र बैंकहरुसँग छलफल हुन्छ’, उनले भने, ‘अर्को साताभित्र निष्कर्ष आउँछ।’