काठमाण्डौ । आईसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजकका रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गर्ने भएको छ। 

आज एक कार्यक्रमबीच इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच शीर्ष प्रायोजनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा कम्पनीका तर्फबाट सहसस्थापकहरु प्रवीण सुवेदी, अर्विन्द प्रधान र सीओओ डा. राजीव सुब्बाको उपस्थिति थियो। 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आईसीटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ। सातौँ आईसीटी अवार्डको शीर्ष प्रायोजकको रुपमा इन्फोडेभलपर्सले सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका सीईओ रघुवंशीले भने, ‘हामीले २० वर्षदेखि डिजिटल रुपान्तरणको लागि काम गर्दै आइरहेका छौँ, अब यसको इकोसिस्टमको विकासमा थप योगदान गर्ने उद्देश्यले आईसीटी अवार्डसँग सहकार्य गरेका हौँ।’

बीसौँ वर्षको यात्रामा रहेको नेपालको अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले ३५० जनाबढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। नेपालका प्रमुख सरकारी, गैरसरहकारी, व्यावसायिक र वित्तिय संस्थाहरुमा सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स, सफ्टवेयर क्षेत्रको एउटा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड बनिसकेको छ। कम्पनीलाई नेपाली युनिकर्नको रुपमा स्थापित गराउने लक्ष्यसहित एक वर्षमा एक अर्बको कम्पनी बनाउने आक्रमक रणनीतिक योजना बोकेर अहिले इन्फोडेभलपर्स अगाडी बढेको छ। कम्पनीले नेपाल वाहेक अन्य देशहरुमा समेत आफ्नो सेवा विस्तार गरिरहेको छ। 

सन् २०१६ बाट सुरु भएको ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ। यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुका लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ। 

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रक्रियामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिष्ठ सल्लाहकारहरु रहेका छन। यस वर्ष विभिन्न १२ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको छ।  आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ।

यसैगरी प्रि–इभेन्ट क्याम्पियनका रुपमा कात्तिक १८ र १९ गते १०० भन्दा बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरुको प्रदर्शनी तथा इन्क्युवेसन कार्यक्रम ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुनेछ। यसका लागि आयोजकले यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गरेको थियो। सातै प्रदेशबाट ४० बढी स्टार्टअप तथा आइडियाहरु काठमाण्डौको कार्यक्रमका लागि छनौट भएका छन्। 

आईसीटी अवार्ड २०२२ को दोस्रो चरणको छनौटपश्चात स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ को सार्वजनिक गरिएको छ।