काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृतिसँगै दुवै बैंकले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए)को कार्य अगाडि बढाएका छन्। 

दुवै बैंकले गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए। सम्झौताको छोटो समयमै राष्ट्र बैंकले दुवैलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो। ‘राष्ट्र बैंकबाट दसैँअघि नै मर्जरका लागि सैद्धान्तिक स्वीकृति पाएका हौँ। हामीले पुस मसान्तभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने हुन्छ’, कुमार बैंक स्रोतले भन्यो, ‘त्यहीअनुुसार डीडीएको कार्य पनि सुरु भइसक्यो।’ 

दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। सम्झौताअनुसार मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहनेछ। बैंकको सीईओमा एनसीसीका रमेशराज अर्याल हुनेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन्। 

हाल कुमारी बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी २५ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ।