– रेखा चन्द
काठमाण्डौ । बैंकिङ प्रणालीमा विगत १ वर्षभन्दा बढी समयदेखि लगानीयोग्य रकम (तरलता)को संकट कायमै छ। जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको मागबमोजिम कर्जा प्रवाह गर्न सकेका छैनन्।
बैंकिङ प्रणालीमा पर्याप्त मात्रा तरलता कायम गर्न बैंकहरुले सर्वसाधारणबाट निक्षेप तान्न ब्याजदर बढाउनुका साथै अनेकन प्रकारका योजना ल्याइरहेका छन्। यद्यपि बैंकहरुले सोचेजस्तो निक्षेप संकलन गर्न सकेका छैनन्। बैंकबीच अझै निक्षेप तान्ने होडबाजी भने चलिरहेकै छ।
बैंकहरुले हालै चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। ती वित्तीय विवरण केलाउँदा राष्ट्रियस्तरका ८ विकास बैंकमध्ये अधिकांशको नाफा प्रभावित बनेको छ। तर, पछिल्लो ३ महिनाको निक्षेप संकलनको अवस्था हेर्ने हो भने विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले राम्रै फड्को मारेको छ।
गत असार मसान्तयता बढी निक्षेप संकलन गर्ने विकास बैंकहरुमा महालक्ष्मी दोस्रो स्थानमा छ। यही ३ महिनाको अवधिमा विकास बैंकहरुमध्ये अब्बल मानिएको मुुक्तिनाथ निक्षेप संकलनमा सबैभन्दा पछाडि परेको छ।
यो अवधिमा महालक्ष्मीले १ अर्ब ९१ करोड रुपैयाँले निक्षेप बढाउन सफल भएको छ। गत असार मसान्तसम्म बैंकले ४५ अर्ब ८९ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तसम्म बढेर ४७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकले समीक्षा अवधिमा सबैभन्दा बढी २ अर्ब ३५ करोड रुपैयाँ निक्षेप बढाएकोे छ। गत असार मसान्तसम्म ४३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको शाइन रेसुुंगाले असोज मसान्तसम्म ४५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
गत असार मसान्तसम्म ४४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप उठाएको लुुम्बिनी विकास बैंकले असोज मसान्तसम्म १ अर्ब ६८ करोड रुपैयाँले निक्षेप वृद्धि गरी ४६ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ।
पछिल्लो ३ महिनामा गरिमा विकास बैंकले ८९ करोड १० लाख रुपैयाँले निक्षेप बढाएको छ। गत असार मसान्तसम्म ७० अर्ब ४४ करोड निक्षेप संकलन गरेको यो बैंकले असोज मसान्तसम्म ७१ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
असार मसान्तसम्मको तुुलनामा ज्योति विकास बैंकले निक्षेप पनि ७६ करोड ४२ लाख रुपैयाँ बढेको छ। असोज मसान्तसम्म ज्योतिले ५७ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५८ करोड ४९ लाख रुपैयाँले निक्षेप बढाएर ५२ अर्ब ७९ करोड रुपैयाँ कुल निक्षेप उठाएको छ। यसका साथै गत असार मसान्तको तुलनामा कामना सेवा विकास बैंकले ४७ करोड ४३ लाख रुपैयाँले निक्षेप बढाएको छ। बैंकले असोज मसान्तसम्म आउँदा कुल ५१ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
यो ३ महिनाको अवधिमा मुक्तिनाथको निक्षेप भने घटेको छ। गत असार मसान्तसम्म मुक्तिनाथले १ खर्ब ८ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। असोज मसान्तसम्म भने बैंकको निक्षेप १२ करोड ४२ लाख रुपैयाँले घटेर १ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ।
22 minutes ago
41 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago