काठमाण्डौ । अर्थतन्त्रमा देखिएको सुधारको प्रभाव आजको सेयर बजारमा देखिएको छ । 

खुलेदेखि नै बढ्न थालेको आजको बजारलाई कारोबारले पनि साथ दिइरहेको छ । 

विकास बैंक र फाइनान्स कम्पनीहरुले थोरै भए पनि ब्याजदरमा गरेका कटौति, हिजो राष्ट्रबैंकले सार्वजनिक गरेको अर्थतन्त्रको सुधारिएको तस्विर, चुनावमा हुने खर्च प्रणालीमा आएर आगामी दिनमा बैंकिङ क्षेत्रको तरलतामा सामान्य राहात हुनसक्ने अपेक्षा लगायतका कारणले लगानीकर्ताको मनोबल बिस्तारै बढ्दै गएको देखिएको छ । यिनै फ्याक्टर्सहरुको प्रभाव आजको बजारमा देखिएको हो । 

आजको कारोबारको पहिलो २ घण्टामा नेप्से परिसूचक १५.५१ अंकले बढेको छ । तर यो २ घण्टाको अवधिमा नेप्से २५ अंकभन्दा बढीले बढेर १९३६ को विन्दूभन्दा माथि पुगिसकेको थियो । 

बजार खुलेदेखि नै नेप्से बढ्न थालेको थियो । दिउँसो १ बजेसम्म कारोबारमा आएका कम्पनीमध्ये १६६ को सेयरमूल्य बढेको छ भने १४ वटाको मूल्य मात्र घटेको छ । ३ वटा कम्पनीको सेयरमूल्य स्थिर छ । 

कुल ८१ करोड भन्दा बढीको कारोबार भइसकेको बजारमा यो अवधिसम्म सिक्लेस हाइड्रोपावरको मूल्यमा पोजिटिभ सर्किट लागिसकेको छ । 

त्यसपछि प्रोग्रेसिभ फाइनान्सको मूल्य ६.२० प्रतिशतले बढिसकेको छ भने रिडी हाइड्रोपावरको मूल्य पनि ५.६५ प्रतिशतले बढिसकेको छ ।
 

धेरै मूल्य बढेका १० कम्पनीको सूचीमा हाइड्रोपावर सेक्टरको दबदबा छ । 

आज खराब वित्तीय विवरण सार्वजनिक गरेको फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य भने सुरुवातदेखि नै घटिरहेको छ । ६ प्रतिशतसम्म घटिसकेको मूल्य १ बजेसम्म चाहिँ ४.०१ प्रतिशतले घटेको छ । फरवार्डपछि ओरिएन्टल होटलको सेयरमूल्य २.०१ प्रतिशतले घटिसकेको छ । 

विश्लेषकहरुले आजको बजारमा नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि राम्रो सुधार भएकोले यसलाई सकारात्मक मान्नुपर्ने बताएका छन् ।उनीहरुको भनाई आज पूरा कारोबार अवधिमा २ अर्ब हाराहारीमा सेयर किनबेच हुनसक्ने अवस्था देखिएको छ ।