काठमाण्डौ । काठमाण्डौ जिल्लाको निर्वाचन क्षेत्रनम्बर १ र ४ मा आजै रातिदेखि मतगणना सुरु हुने भएको छ । 

जिल्ला निर्वाचन कार्यालय काठमाण्डौका अनुसार सबै मतदानस्थलबाट मतपेटिका संकलन भइसकेको र सर्वदलीय बैठकपछि आजै रातिदेखि मतगणना थालिनेछ । 

कार्यालयका अनुसार काठमाण्डौको निर्वाचन क्षेत्रनम्बर १ को मतगणना बानेश्वरको संसद भवनमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । यस्तै, काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौअनुसार मतगणना हुने भनिएका स्थलहरुलाई कडा सुरक्षा घेराभित्र राखिएको छ । 

काठमाण्डौको क्षेत्रनम्बर १ मा कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र लगायतका पात्रहरु चुनावी प्रतिस्पर्धामा छन् । 

यस्तै, काठमाण्डौ निर्वाचन क्षेत्रनम्बर ४ बाट कांग्रेस महामन्त्री गगनकुमार थापा र एमालेका नेता तथा पूर्व मन्त्री राजन भट्टराईबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।