काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।

काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०२१–२२ का लागि सेयरधनीहरुलाई २०२२ जुलाई १६ मा भएअनुसार चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो। 

आर्थिक वर्ष २०२१–२२ मा स्ट्यान्डर्ड चार्टर्डले सञ्चालन मुनाफा र खुद मुनाफा क्रमशः ३.२४ बिलियन रुपैयाँ र २.२६ बिलियन रुपैयाँ आर्जन गर्न सफल भएको सभामा जानकारी गराइयो। आर्थिक वर्ष २०२१–२२ को अन्त्यमा बैंकले जोखिम व्यवस्थापनतर्फ ९१ बिलियन पुर्याउन गत वर्षको तुलनामा २४.८ प्रतिशतको बढोत्तरी हासिल गरेको छ। यसैगरी बचत ९१ बिलियन पुर्याउन निक्षेपमा ६.२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ।

बैंकका अध्यक्ष दारुवालाले समस्त लगानीकर्ता ग्राहक, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालालाई उनीहरुबाट प्राप्त निरन्तर साथ समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन्। उनले भने, ‘गत आवभरि बाह्य अवस्थाहरु निरन्तर ओरालो लागीरहँदा पनि हामीले सधैँ बदलिँदो धरातललाई गतिशीलताका साथ ग्रहण गरिरह्यौँ। हाम्रो व्यवस्थापन समूह र नेपालमा रहेका कर्मचारीहरुले चुनौतीहरुलाई बावजुद एक बैंकका रुपमा एकजुट भएर उदाहरणीय सामूहिक भावना प्रदर्शन गरेका छन्। हाम्रा सहकर्मीहरुको लगनशीलता र सामूहिक प्रयासल हामीलाई सेयरधनीहरुको हितमा काम गर्न, ग्राहकहरुको अनुभव विस्तार गर्न र हाम्रा सहकर्मी, ग्राहक र हामीले सञ्चालन गर्ने समुदायहरुको कल्याण सुनिश्चित् गर्न हाम्रो ध्यान केन्द्रित गर्नमा मद्दत पुर्याएको छ।’

सभाले अविनाश अग्रवाललाई साधारण सेयर सदस्यहरुबाट नयाँ सञ्चालक सदस्यमा नियुक्त गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर रहेको छ।