काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाबाट मेगा बैंक नेपालसँगको मर्जर प्रक्रिया स्वीकृत भएको छ। 

काठमाण्डौको कमलादीस्थित नोपल प्रज्ञा प्रतिष्ठानमा आज सम्पन्न बैंकको ३६ औँ वार्षिक साधारणसभाले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रयोजनका लागि संयुक्त मर्जर समितिको सिफारिसमा बैंकका सञ्चालक समितिले स्वीकृत गरेको १००ः९० सेयर स्वाप रेसियोसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। 

त्यसैरीले विशेष प्रस्तावका रुपमा राखिएको मर्जर प्रक्रिया सम्बन्धमा भएका डीडीए रिपोर्ट, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायत सम्पूर्ण कामकारबाही पनि सभाले अनुमोदन गरेको छ। 

सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले मर्जर प्रक्रिया पूरा गरी पुस २७ गतेभित्रै एकीकृत कारोबार सुरु  गर्ने लक्ष्य राखिएको बताए। ‘यो टार्गेटमा १–२ दिन तल-माथि हुन सक्छ’, उनले भने। 

इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। गत असार २२ गते राष्ट्र बैंकले इन्भेस्टमेन्ट र मेगाबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिएको थियो।

मर्जरपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ रहनेछ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाण्डे रहनेछन् भने नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रबिना देशराज जोशी हुने छिन्। 

मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ।

सोही सभाले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावेजहरु स्वीकृत गर्नेछ। 

नेपाल इन्भेस्टमेन्ट बैंकको निक्षेप अघिल्लो वर्ष १७९ अर्ब ४० करोड रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा १८६ अर्ब ७६ करोड पुगेको छ। त्यसैगरी कर्जा लगानीतर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैया रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा १६४ अर्ब ८२ करोड रुपैया रहेको छ। 

हाल बैंकको ८८ वटा शाखा कार्यालय, १३१ वटा एटीएम, २३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन काउन्टर तथा ५९ वटा शाखारहित बैंकिङ सेवामार्फत १० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। स्तरीय बैंकिङ सेवा प्रदान गरेबापत बैंकले बेलायतको द फाइनान्सियल टाइम्सले प्रदान गर्ने ‘बैंक अफ द इयर’ अवार्ड छैटौँपटक २०२२ मा प्राप्त गरेको छ। यसका साथै बैंकले अन्तर्राष्ट्रिय प्रकाशन – युरोमनीले प्रदान गर्ने ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’को युरोमनी अवार्डहरु समेत प्राप्त गरेको छ।