– रेखा चन्द

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकको आज सम्पन्न ३६ औँ वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७८–७९को लाभांशप्रति सेयरधनीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। 

सभाले उक्त आर्थिक वर्षका लागि ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसमा ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश छन्। लाभांशसँगै मेगा बैंकसँगको मर्जर प्रक्रिया पनि सभाले स्वीकृत गरेको छ। आगामी पुस २७ गतेभित्र एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको पनि सभामा जानकारी गराइएको छ। 

सभामा उपस्थित अधिकांश सेयरधनीले बैंकको लाभांश दर घट्दै गएकोमा गुनासो व्यक्त गरे। त्यसमाथि पनि मेगा बैंकलाई मर्जर गरेपछि लाभांश दर अझै घट्ने हो कि भन्ने चिन्ता पनि उनीहरुमा देखिएको छ। 

नेपाल इन्भेस्टमेन्ट बैंकले नाफा गरेअनुुसार बोनस सेयर दिन कन्जुुसाइँ गरेको सेयरधनी शत्रुघन श्रेष्ठले बताए। ‘यो बैंकले २०६२–६३ मा ३३ प्रतिशतसम्म लाभांश दिएको दिएको थियो’, उनले भने, ‘तर, अहिले आएर ११ प्रतिशतमा झरेको छ, त्यसमा पनि बोनस सेयर किन ४ प्रतिशतमा झर्यो, त्यो स्पष्ट पारिदिनुपर्यो।’

श्रेष्ठले मेगालाई गाभेपछि सेयरधनीलाई कतिसम्म लाभांश दिन सकिन्छ अहिले नै प्रतिबद्धता जनाउन पनि माग गरे। समीक्षा आवधिमा खराब कर्जा १.४९ प्रतिशतमा कायम भएको उल्लेख गर्दै श्रेष्ठले आगानी दिनमा यसलाई शून्यमा झार्न सुुझाव दिए। 

यसैगरी श्रेष्ठले मर्जरपछि कर्मचारीहरुलाई समायोजन गरी खाइपाइ आएको रकम नघटाई मिलाउनुपर्ने सुझाव पनि दिए।

अर्का सेयरधनी दिल्लीराम नकर्मी आफूले सधैँ कर्मचारीको हितमा आवाज उठाउने गरेको बताए। ‘त्यसकारण मेगालाई मर्जर गरेपछि सबै कर्मचारीलाई सामान व्यवहार गरिनुपर्छ’, उनले भने, ‘बैंकका कर्मचारीलाई लोकल ट्रेनिङमात्रै नभएर अन्तर्राष्ट्रियस्तरको तालिमको व्यवस्था गरिनुपर्छ।’

सभामा सेयरधनी उद्धवप्रसाद घिमिरले पुँजीका हिसाबले ग्लोबल आईएमई बैंकलाई टप गर्नेगरी काम गर्नुपर्ने बताए। कोभिड महामारीबीच ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय राम्रो पक्ष रहेको उनको भनाइ थियो। बैंकको सम्रग फोर्टफोलियो राम्रो रहेको उल्लेख गर्दै उनले प्रविधिमा अझै बढी जोड दिन बैंकलाई सुझाव दिए। 

सभामा अर्का लगानीकर्ता शिवप्रसाद पौडेलले नगद लाभांशलाई आजै खातामा पठाउने व्यवस्था गर्न माग गरे। बोनस सेयरलाई पनि छिट्टै लिस्टिङ गर्नुपर्ने माग उनको थियो। ‘मर्जरको लहर चलिरहेका छ, त्यसैले बजारमा अब थोरै बैंकमात्रै रहने देखिन्छन्’, उनले भने ‘त्यसमा पनि हामी रहनेमा विश्वस्त छौँ।’

पौडेलले बैंकको सिस्टममा ध्यान दिन पनि आग्रह गरे। ‘बैंकको एजीएम पुुसमा भन्दा पनि असोज–कात्तिकतिर हुुनुुपर्छ’, उनले भने।

अर्का लगानीकर्ता दमरु बल्लब घिमिरेले कोभिड र डेंगुबीच ११ प्रतिशत प्रतिफल दिएकोमा बैंकलाई धन्यवाद दिए। उनले भने ‘छोटो समयमा प्रगति गरेको मेगा बैंकलाई गाभ्नु राम्रो हो तर मर्जरपछि बैंकको मुख्य कार्यालय आफ्नै भवनमा सारिनुपर्छ।’

यस्तै २६ वाणिज्य बैंकमध्ये इन्भेस्टमेन्ट सबैभन्दा बढी उदारवादी देखिएको उल्लेख गर्दै उनले सेयरधनीलाई दिने लाभांश घटाएर राष्ट्र बैंकले तोकेको भन्दा बढी सामाजिक उत्तरदायित्वको कार्यमा खर्च नबढाउन आग्रह गरे। आगामी वर्ष बैंकको एजीएम चाँडै हुनुुपर्ने उनको माग थियो। 

प्रमोटर सेयरधनी सन्दीप अग्रवाल हरेक वर्र्ष लाभांश दर खुम्चिँदै आएकोमा गुनासो गरे। ‘राष्ट्र बैंकको नीतिले आगामी दिनमा लाभांश झनै खुम्चिने हो कि भन्ने सम्भावना देख्छुु’, उनले भने ‘राष्ट्र बैंकको नीति वा बैंकको आफ्नै कारणले धेरै पछि परेको जस्तो देखिन्छ।’

अग्रवालले संस्थापक सेयर खुला बजारमा कारोबार गर्न सकिने र नसकिने समस्या रहेकाले समाधान गर्न ध्यानाकर्षण गराए। राष्ट्र बैंकले आफैँ व्यापारीले बैंक चलाउनुहुँदैन भन्ने छ तर वर्किङ क्यापिटललगायतले आफैँ समस्या सिर्जना गरिरहेको उनको भनाइ थियो। नियमन गर्नुपर्ने ठाउँमा समस्या सिर्जना गरेको आरोप उनको छ। 

लगानीकर्ता सुरेश अग्रवालले मर्जरपछि बैंकको पुँजीकोषको अनुपात कस्तो हुन्छ भनेर प्रश्न गरेका थिए। लगानीकर्ता लवराज जोशी ३–४ वर्षको ट्रेन्डअनुसार बैंकको लाभांश दर घटिरहेकोमा गुनासो गरे। ‘सेयरधनीलाईलाई प्रोग्रेसिभ तरिकाले लाभांश दिनुपर्नेमा झनै घटेको अवस्था छ’, उनले भने, ‘लाभांश किन घट्दो क्रममा छ ? हामीलाई गुनासो यही हो। मेगालाई गाभिसकेपछि आगामी वर्ष कति लाभांश दिन सक्छ ?’ 

मेगासँगको बिग मर्गरपछि सेयरधनीले आशा गरेअनुसारको लाभांश दिनुुपर्ने उनको माग थियो।

सभामा सेयरधनीले उठाएका प्रश्नहरुको जबाफ दिँदै बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मेगासँगको मर्जरपछि सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रदान गर्ने प्रतिबद्धता जनाए। अनावश्यक खर्च कन्ट्रोल गरेको उल्लेख गर्दै उनले अन्य बैंकको तुलनामा इन्भेस्टमेन्ट बैंकको सञ्चालन खर्च पनि कम रहेको दाबी गरे। 

मेगासँगको मर्जरपछि कर्मचारीलाई खाइपाइ आएको सेवामा कमी नआउने पाँडेले बताए। ‘मर्जरपछि यो मेगा बैंकको त्यो इन्भेस्टमेन्ट बैंकको स्टाफ भन्ने हुँदैन सबै समान हुन्छन्’, उनले भने ‘सकेसम्म सबै कर्मचारीलाई समायोजन गर्ने हो, भीआरएस स्किम पनि कर्मचारीलाई ल्याइन्छ तर कर्मचारीलाई जबरजस्ती निकाल्दैनौँ।’

गत वर्ष सेयरधनीहरुले नै साधारणसभामा सीएसआरमा खर्च किन कम भयो भनेर प्रश्न गरेकोले यो वर्ष केही बढी खर्च भएको अध्यक्ष पाँडेको भनाइ थियो।