काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताहरुको राम्रो अनुभवका लागि नयाँ फिचरहरु थप्न जारी राख्दै आएको छ। एप विकासकर्ताहरुले यो प्लेटफर्मलाई एक कदम अगाडि लैजाने निर्णय गरेका छन्। 

ह्वाट्सएपको पछिल्लो फिचर यसको प्रमाण हो। एपले विश्वभरका प्रयोगकर्ताका लागि प्रोक्सी सपोर्ट सुरु गरेको छ। ह्वाट्सएपले बिहीबार यसबारे जानकारी दिएको हो।

प्रोक्सी सपोर्टको मद्दतले ह्वाट्सएप प्रयोगकर्ताहरु बिना इन्टरनेट नै यस प्लेटफर्ममा कनेक्ट रहिरहन सक्नेछन्। प्रयोगकर्ताहरुले आफ्नो फोनमा मात्रै नभई आफ्नो आसपासको क्षेत्रमा इन्टरनेट नभए पनि ह्वाट्सएप सेवा प्रयोग गर्न सक्नेछन्।

यो सुविधाको मद्दतले ह्वाट्सएप प्रयोगकर्ताहरु विश्वभरका भोलेन्टियर्स र अर्गनाइजेसन्सको प्रोक्सी सर्भर सेटअपमार्फत कनेक्ट रहिरहन सक्नेछन्। 

ह्वाट्सएपले प्रोक्सी नेटवर्कमा जडान हुँदा पनि प्रयोगकर्ताले प्राइभेसी र सेक्युरिटी बारेमा चिन्ता लिनु नपर्ने जनाएको छ। प्रयोगकर्ताहरुले पहिलेजस्तै प्राइभेसी र सेक्युरिटी प्राप्त हुने कम्पनीको भनाइ छ। 

प्रयोगकर्ताका म्यासेज एन्ड–डु–एन्ड इन्क्रिप्टेड हुनेछन्। कम्पनीका अनुसार यो बीचमा प्रयोगकर्ताका म्यासेज कसैले पनि हेर्न सक्ने छैनन्। न त प्रोक्सी नेटवर्कमा न मेटा वा ह्वाट्सएपमा नै। ह्वाट्सएपले एक ब्लग पोस्टमा लेखेको छ, ‘सन् २०२३ का लागि हाम्रो शुभकामना भनेको इन्टरनेट कहिल्यै सटडाउन नहोस्।’

एपले लेखेको छ, ‘हामीले इरानमा पछिल्ला केही महिनादेखि जुन प्रकारको समस्या देखिरहेका छौँ, अन्त्यमा उनीहरुले मानवअधिकारलाई अस्वीकार गर्छन् र मानिसहरुलाई तत्काल सहयोग पाउनबाट रोक्छन्। यस्ता बन्दहरु भइरहनेछन्। हामी आशा गर्छौं कि यो समाधानले मानिसहरुलाई मद्दत गर्नेछ, जहाँ सुरक्षित र भरपर्दो–सञ्चारको आवश्यकता छ।’

नयाँ अप्सन ह्वाट्सएपको सेटिङ मेनुमा फेला पर्नेछ। प्रयोगकर्तासँग आफ्नो फोनमा ह्वाट्सएपको लेटेस्ट भर्जन हुनुपर्नेछ। यदि प्रयोगकर्तासँग इन्टरनेट पहुँच छ भने सोसल मिडिया वा सर्च इन्जिनहरुमा भरपर्दो प्रोक्सी स्रोतहरु खोज्न सक्ने कम्पनीले जनाएको छ।

प्रोक्सी नेटवर्कमा कनेक्ट रहन प्रयोगकर्ताले ह्वाट्सएप सेटिङमा जानुपर्छ। त्यहाँ स्टोरेज एन्ड डाटाको अप्सन पाइनेछ। प्रोक्सी अप्सनमा क्लिक गर्नुपर्छ। अब प्रोक्सी प्रयोग गर्ने अप्सनमा क्लिक गरेर प्रोक्सी एड्रेस इन्टर गरेर सेभ गर्नुपर्छ। 

यस तरिकाले प्रयोगकर्ता पछि यो नेटवर्क प्रयोग गर्न सक्नेछन्। यदि कनेक्ट सफल भयो भने प्रयोगकर्ताले चेकमार्क देख्न सक्नेछन्। यदि कुनै कारणले प्रोक्सी कनेक्सन कनेक्ट भएपछि पनि म्यासेजहरु पठाउन सकिएन भने यसलाई ब्लक गरिउको हुन सक्छ। यस्तो अवस्थामा प्रयोगकर्ताले अर्को प्रोक्सी नेटवर्क प्रयोग गर्न सक्नेछन्। –एजेन्सी