काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन्। 

कम्पनीको बिहीबार सम्पन्न १३ औँ वार्षिक साधारणसभामा संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक चयन गरेको थियो। सभामा आगामी चार बर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा हेमराज ढकाल, उत्तमकुमार नेपाल, कल्याण गुरुङ र दिलीप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो। 

सोही दिनमा बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरी हिल्सका संस्थापक अध्यक्षसमेत हुन्। 

लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारका रुपमा चन्द्रागिरी हिल्सको परिकल्पना गरेका थिए। 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरिरहेको छ।