काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। 

उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ। यो ऋणपत्रको प्रतिइकाई मूल्य रु. १ हजार रहनेछ र ऋणपत्रको अवधि ५ वर्ष हुनेछ। यससम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ।

ऋणपत्रका लागि व्यक्ति र निजी संस्थाहरु जो नियमित आयआर्जन गर्न चाहन्छन्, उनीहरुले दरखास्त दिन सक्नेछन्। निष्कासन हुने कुल रकममध्ये १४ लाख ४० हजार इकाइ निजी तवरमा र ९ लाख ६० हजार इकाइ सर्बसाधारणलगायत म्युच्युअल फन्डहरुका लागि सेयर आह्वानपत्र जारी गरेर बाँडफाँड गरिनेछ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक हाल नेपालमा सञ्चालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो। यसका साथै नेपालमा इक्रा नेपालद्वारा इक्राएनपी–आईआर एएए श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकका रुपमा मान्यता दिइएको छ। हालैमात्र बैंकले न्यु बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गर्न सफल भएको छ।