काठमाण्डौ । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ।
दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थालाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरेका हुन्। यो सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ। मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ।
रणनीतिक साझेदार पश्चात सहकारीदेखि लघुवित्त र बैंकहरुको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने इन्फोडेभलपर्स एमओएसले विश्वास लिएको छ।
डिजिटल जगतलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य इन्फोडेभलपर्स एमओएसले राखेको छ। इन्फोडेभलपर्स एमओएसले दुवै कम्पनीको राम्रो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरु ल्याउने तयारी गरेको छ।
नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जीव राजभण्डारी नियुक्त भएका छन् भने सीईओमा उमेश रघुवंशी र सहसीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन्।
नेपालको आईटी तथा बैंकिङ क्षेत्रका लागि नयाँ आयाम सुरु गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीले जनाएको छ। परिवर्तन चुनौतीपूर्ण भए पनि ग्राहक तथा साझेदारलाई सहज बनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ।
सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स सहकारी र लघुवित्तका लागि कोर बैंकिङ सोलुसन (सीबीएस) विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो। नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३०० बढी कर्मचारीले काम गरिरहेका छन्।
मर्कन्टाइल अफिस सिस्टम्स नेपालको एक पुरानी तथा अग्रगामी आइटी कम्पनी हो। संस्थाले विकास गरेको फ्ल्यागसिप कोर बैंकिङ सोल्युसन पुमोरी नेपालको शीर्ष स्थानको बैंकिङ सफ्टवेयर हो। यसले नेपाली बैंकिङ क्षेत्र, अन्तर्राष्ट्रिय बैंकिङ संस्था तथा वित्तीय संस्थालाई विगत ३२ वर्ष देखि टेवा पुर्याउँदै आएको छ।
7 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago