काठमाण्डौ । कार्यकालको सुरुवातमा बजार सुधारकको परिचय बनाएका धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पदीय दुरुपयोग गर्दै बार्गेनिङ धन्दा चलाइरहेको उजुरी परेपछि उनको पद धरापमा परेको छ । 

उनीविरुद्ध नयाँ सरकार गठन भएदेखि नै विभिन्न क्षेत्रबाट उजुरीहरु परेका थिए । अर्थमन्त्री विष्णु पौडेलसम्मै ती उजुरीहरु पुगेका थिए । लिखित रुपमा सप्रमाण पुगेका उजुरीहरुको विषयमा केही मिडियाले समेत समाचार बनाएपछि अर्थमन्त्रालय पदीय दुरुपयो गरी करोडौं कमाउने ध्याउन्नमा लागेका अध्यक्ष हमालको विषयमा गम्भीर देखिएको हो । 

हमालले बिचौलियाहरु प्रयोग गरी विभिन्न खालका सेयर जारीका लागि स्वीकृति लिन बोर्ड पुग्ने कम्पनीसँग करोडमाथिको बार्गेनिङ गर्ने गरेका खुलेको छ । उनले बुक बिल्डिङको स्वीकृति लिन गएका कम्पनी, आइपीओ निश्कासन गर्न जाने रियल सेक्टर, हाइड्रो लगायतका कम्पनी, ऋणपत्र निश्कासनको माग गर्न बोर्ड पुग्ने बैंकदेखि प्रिमियममा सेयर जारी गर्न खोज्ने कम्पनी, भेञ्चर क्यापिटल सञ्चालन गर्न खोज्ने अन्य कम्पनीसँग समेत छिटो स्वीकृति चाहिने भए पैसा चाहिन्छ भन्दै बार्गेनिङ गराउने गरेका थिए । 

यसबाहेक पूर्वयोजनाअनुसार नै नेप्सेको अधिकारक्षेत्रमाथि हस्तक्षेप गर्दै लाइसेन्स दिने प्रक्रियामा रहेका नयाँ ब्रोकर कम्पनी तथा लगानी व्यवस्थापन सेवा सञ्चालन गर्ने कम्पनीहरुसँग पनि उनले मोटो रकम उठाएका उजुरीहरु परेका अर्थमन्त्रालय स्रोतले बताएको छ । 

हमालले आफूले उठाएको रकम अर्थमन्त्रीसम्मलाई दिनुपर्ने भन्दै माग्ने गरेका पीडितहरुले गुनासो गरेका अर्थका एक अधिकारीले जानकारी दिए । ‘अर्थमन्त्रीको नाम भजाउँदै पैसा उठाएको प्रमाण नै फेला परेपछि मन्त्रीज्यू समेत यो विषयमा गम्भीर बन्नु भएको छ । हमाललाई तत्काल कारबाही हुनसक्ने प्रशस्त आधारहरु छन् ।’ ती अधिकारीले भने–‘प्रक्रिया पुर्याएर उनीमाथि कडा कारबाही हुनेछ । उनले होइन भने पनि प्रमाणसहित आएका उजुरीहरु उनकाविरुद्ध काफी छन् ।’

लगानीकर्तालाई मख्ख पारी कमाउधन्दामा
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल पद बहाली गरेको केही महिनापछिदेखि नै कमाउधन्दामा थिए । नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्नेदेखि लिएर ब्रोकर लाइसेन्ससम्मको खेलमा उनले बिचौलियाहरुमार्फत करोडौंको डिल गरेका थिए । नयाँ स्टक एक्सचेञ्ज सञ्चालनको जिम्मा दिने गरी शंकर ग्रुप लगायतका ठूला घरानासँग उनले भारतमा गएर सेटिङ समेत मिलाएका थिए । सो विषयका समाचार बिजशालाले त्यसबेलै प्रकाशन गरेको थियो । 

यस्तै, हमालले सुरुमा बजार सुधारका कामहरु गरेजस्तो गरेर लगानीकर्ता संघसंगठनका नेताहरुको मनोबल जित्ने प्रयास गरेका थिए । कतिपयले त सुरुवातमा उनलाई दबङ उपनाम समेत दिएका थिए । तर, लामो समयसम्म उनले यो उपनामको प्रतिष्ठा जोगाउन सकेनन् । पहिला बजार सुधारको काम गरेजस्तो गरी केही समयपछि नै भित्रभित्रै कमाउधन्दामा लागेका थिए । 

उनले आफ्नो कमाउधन्दाको पोल खुल्ने डरले धितोपत्र बोर्डका कर्मचारीहरुलाई समेत बाइपास गरेर काम गर्ने गरेका थिए । बाहिरियाहरुको प्रयोग गरी सम्वेदनशील नीति बनाउने र त्यसलाई नियोजित रुपमा बजारमा चुहाएर सेयरमूल्यमा समेत चलखेल गर्ने गरेका आरोपहरु उनीमाथि लाग्दै आएको छ । 

उनले बोर्डका महत्वपूर्ण निर्णयहरुको विषयमा आफ्ना कर्मचारीहरुसँग छलफलसम्म गर्दैन थिए । बोर्डभन्दा बाहिर आफ्नो व्यक्तिगत कार्यालय खोलेर त्यही विभिन्न सेक्टरमा बिचौलिया तथा व्यापारी, सेयर माफियाहरुलाई बोलाएर उनले कमाउधन्दा सञ्चालन गर्ने गरेका थिए । उनको रबैयाप्रति बोर्डका कर्मचारी समेत असन्तुष्ट हुँदै आएका थिए । 

अर्थमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार धितोपत्र बोर्डका अध्यक्ष हमालको विषयमा संगीन विषय बाहिरिएकोले के कसो भएको हो भनी अर्थसचिव तोयम रायले सोमबार दिउँसो मन्त्रालयमै बोलाएर स्पष्टीकरण लिएका छन् । ‘हमालविरुद्ध लागेका आरोपहरुको सत्यतथ्य पत्ता लगाउने विषयमा अर्थमन्त्री ज्यूले पनि चासो व्यक्त गर्नुभएको छ ।’ ती अधिकारीले भने–‘लिखित स्पष्टीकरण सोध्ने कुरा अहिलेसम्म भएको छैन । पहिला हमालमाथि लागेका आरोपहरुको विषयमा सत्यतथ्य बुझ्ने काम हुन्छ । दोषी देखिएको खण्डमा थप कारबाही अगाडि बढाउने भन्ने कुरा छ ।’

के भन्छन् हमाल ?
सेबोन अध्यक्ष हमालले आफ्नो नाम भजाएर दलालहरुले बदनाम गराउने षड्यन्त्र रचेका दाबी गरे । 

आफूलाई अर्थसचिवले बोलाएर मौखिक स्पष्टीकरण सोधेको पुष्टि गर्दै हमालले बिजशालासँग भने–‘अर्थसचिव ज्यूले के भएको हो भनेर मन्त्रालयमै बोलाएर सोध्नु भएको सत्य हो । मैले मलाई नियोजित रुपमा बद्नाम गराउने समूहले कोही कसैले दलालहरु परिचालन गरी षड्यन्त्र गरेको हुनसक्छ भनेको छु । मबाट त्यस्तो गल्ती हुने सम्भावना पनि छैन र भएको पनि छैन । मेरो ब्याकग्राउण्ड समेत चेक गर्नुहोला पनि भनेको छु । ममाथि जसरी र जेजति आरोप लागेका छन्, त्यसको कुनै तुक छैन । सबै आधारहीन छन् ।’