काठमाण्डौ । ‘इन्टिलेक्चुअल ग्रोथ’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा सम्पन्न गरेको छ। 

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटोबारे विवेचना गरी चालु आर्थिक वर्षको बाँकी अवधिको व्यावसायिक खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो।

विभागीय प्रमुख तथा देशैभरिबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिए।

यसैगरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका विषयहरुमा प्रस्तुति दिँदै नयाँ बीमा ऐन, २०७९ जारी भएपछि प्राधिकरणले बीमासँग सम्वन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएकोबारेमा विस्तृत जानकारी गराए।

उपस्थित शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीलाई कम्पनीका सहायक महाप्रबन्धक प्रज्ज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय कामकारबाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए। 

यसैगरी सम्मेलनमा सहभागी कर्मचारीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यावसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुका बारेमा प्रशिक्षण प्रदान गरेका थिए।