काठमाण्डौ । पाकिस्तानले बेलआउट प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वार्ता सुरु गरिसकेको छ। तर, त्यहाँको विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहेको छ। यदि आईएमएफले छिट्टै ऋण दिन राजी भएन भने पाकिस्तान डिफल्ट हुनेछ। 

पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले बिहीबार देशको विदेशी मुद्रा सञ्चिति ३.०९ अर्ब डलरमा झरेको जनाएको छ। विश्लेषकहरु भन्छन् कि यति पैसाले पाकिस्तानले तीन हप्ताभन्दा कमको लागि आवश्यक सामान आयात गर्न सक्छ। 

स्टेट बैंक अफ पाकिस्तानले जनवरी २७ मा समाप्त भएको साता विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले घटेको जनाएको छ। बेलआउट प्याकेजबारे पाकिस्तान र आईएमएफबीचको वार्ता सफल भएमा विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण लिन पनि हरियो बत्ती मिल्नेछ।

पाकिस्तानको केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै विदेशी मुद्रा सञ्चितिमा आएको गिरावट विदेशी ऋण तिर्नका कारण भएको जनाएको छ। देशका वाणिज्य बैंकहरुसँग हाल ५ अर्ब ६५ करोड डलर रहेको एसबीपीले देशको कुल विदेशी मुद्रा सञ्चिति ८ अर्ब ७४ करोड डलर पुगेको बताएको छ।

पाकिस्तानको अखबार ‘द एक्सप्रेस ट्रिब्युन’ को रिपोर्ट अनुसार स्थानीय लगानी फर्म आरिफ हबिब लिमिटेड (एएचएल) ले रिपोर्ट गरेको छ कि पाकिस्तानको विदेशी मुद्रा सञ्चिति फेब्रुअरी २०१४ यता सबैभन्दा कम छ र यसले १८ दिनको आयातमात्र कभर गर्न सक्छ।

एएचएलका अनुसन्धान प्रमुख ताहिर अब्बासले भने, ‘देशलाई डलरको नितान्त आवश्यकता छ र संकटबाट बच्न आइएमएफको कार्यक्रम जतिसक्दो चाँडो सुरु गर्नुपर्छ।’

आईएमएफको टोली गत मंगलबार पाकिस्तान आएको छ। टोलीले बेलआउट प्याकेजका सर्तहरु कार्यान्वयन गर्न पाकिस्तानी अधिकारीहरुसँग वार्ता गरिरहेको छ। पाकिस्तानलाई गम्भीर आर्थिक संकटबाट बाहिर निकाल्न आईएमएफले ७ अर्ब डलरको कार्यक्रम बनाएको छ। जसमा धेरै कडा सर्त राखिएका छन्।

पछिल्ला महिनाहरुमा पाकिस्तान सर्तहरुका सन्दर्भमा आईएमएफको कार्यक्रममा जानबाट पछि हटेको थियो। तर, अहिले अवस्था यस्तो छ कि पाकिस्तानसँग अर्को विकल्प छैन। 

बेलआउट प्याकेजका लागि आईएमएफ र पाकिस्तानबीच फेब्रुअरी ९ सम्म वार्ता हुने भएको छ। पाकिस्तानले बिस्तारै आफ्नो देशमा आईएमएफको सर्तहरु लागू गर्न थालेपछि देशमा मुद्रास्फीति थप बढिरहेको छ।

आफ्नो सर्तमा आईएमएफले पाकिस्तानी रुपैयाँको विनिमय दरलाई लचिलो बनाउने र अनुदान घटाउने कुरा गरेको छ। पाकिस्तान सरकारले भर्खरै विनिमय दरको क्याप हटायो। पाकिस्तानी रुपैयाँ बिहीबार डलरको तुलनामा ०.९३ प्रतिशतले घटेर रु. २७१.३६ को ऐतिहासिक गिरावटमा बन्द भएको छ। गत जुलाईबाट वित्त वर्षको तुलनामा पाकिस्तानी रुपैयाँ २४.५१ प्रतिशतले अवमूल्यन भएको छ। शाहबाज सरिफ सरकारले पनि इन्धनको मूल्य १६ प्रतिशतले बढाएको छ। –एजेन्सी