काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले माग पूरा गर्ने आश्वासन दिएपछि बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरिरहेकाहरुले आफ्ना विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् । 

उद्योगी-व्यवसायीको माग सम्बोधन गर्न तयार भएको प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएको भन्दै जारी आन्दोलन स्थगित गरिएको हो । 

काठमाण्डौमा चलेको आन्दोलनको नेतृत्व गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि आफूहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए । 

आफूहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले बजारमा देखिएका समस्या र आफूहरुले उठाइरहेको मागको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै ती विषयलाई सम्बोधन गर्ने र ब्याजदर एकल अंक कायम गर्ने गरी आश्वासन दिएका उनको भनाई छ । यही आश्वासनपछि आफूहरुले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि फिर्ता लिएको उनले जनाए । 

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरले उद्योग/व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समितिको ब्यानरमा काठमाण्डौ र देशका अन्य क्षेत्रमा समेत आन्दोलन गर्दै आएका थिए ।