काठमाण्डौ । व्यवस्थापन तथा अर्थशास्त्र बिषय पढेर पनि बेरोजगार हुनेहरुका लागि खुशीको खबर । निकट भविष्यमै नेपालका वाणिज्य बैंकहरुले निकै ठूलो संख्यामा जागिर खुलाउँदैछन् । 

नेपाल राष्ट्रबैंकसँग करिब २५० स्थानका स्थानीय तहमा बैंकको शाखा खोल्ने प्रतिबद्धता जनाई कुन शाखामा को जाने भन्ने बिषय समेत टुंग्याइसकेका बैंकहरुले ती शाखामा आवश्यक जनशक्ति पूर्ति गर्न कम्तीमा पनि १५ सय जागिर खुलाउने नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले बताएका छन् । 

शनिवार आयोजित एक समारोहमा उनले शाखा खोल्ने तयारीमा रहेका प्राय सबै वाणिज्य बैंकले फ्रेस र स्थानीयलाई विशेष प्राथमिकता दिने भन्दै व्यवस्थापन तथा अर्थशास्त्र पढेर रोजगारी नपाएकाहरुका लागि ठूलो अवसर आउन लागेको जानकारी दिए । 

‘एउटा शाखामा बैंकहरुले कम्तीमा पनि ६ जना कर्मचारी राख्नैपर्छ । यो हिसाबले समेत २५० शाखामा सुरुमै १५ सय बढी जनशक्ति चाहिन्छ ।’ अध्यक्ष शाहले भने–‘अहिले बैंकहरुसँग भएको जनशक्ति अपुुग भइरहेको अवस्थामा पढेलेखेका लोकल युवाहरुले घरदैलोमै बैंकमा जागिर खाने अवसर पाउँदैछन् ।’ 

उनले बैंकहरुमा अब दक्ष जनशक्ति निकै ठूलो चुनौति बन्ने दाबी गर्दै भने–‘ ट्रेलरदेखि अफिसरसम्मको लेभलमा २५० शाखामा कर्मचारी भर्ति गरिनेछ, तर जनशक्तिलाई कसरी दक्ष बनाउने भन्ने हाम्रा लागि ठूलो चुनौति बनेको छ ।’ 

उनले अन्य वाणिज्य बैंकले झै मेगा बैंकले समेत स्थानीय युवाहरुलाई जागिरमा उच्च प्राथमिकता दिने उद्घोष समेत गरे । ‘गाउँघरमा बसेर अर्थशास्त्र र व्यवस्थापनको पढाई पूरा गरेका वा पढ्दै गरेकाले ठूलो अवसर पाउँदैछन् ।’ उनले भने–‘हामी २० वटा शाखा खोल्दैछौ, त्यसमा स्थानीय युवा जनशक्तिलाई प्राथमिकता दिन्छौ ।’