काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताएका छन्। उनले मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउनेसमेत बताए। 

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै ढकालले भने, ‘मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो। यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। स्थानीय उत्पादनहरुलाई उपभोक्ताहरुसम्म पुर्याउँछ। मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमानसमेत गराउँछ।’

अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्व रहेको उल्लेख गर्दै ढकालले मेला महोत्सवको आयोजनामा महासंघको साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले कोरोनाभाइरस महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै सहज हुँदै गएकोसमेत बताए। ‘कोरोनाभाइरसपछि मुलुकको अर्थतन्त्रमा केही समस्याहरु देखिएका थिए। बैंकिङ क्षेत्रमा लगानी योग्य तरलताको अभाव रहन गयो। रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको संख्या कम हुँदा विदेशी मुद्रा संचितिमा पनि कमी हुन गयो’, उनले भने, ‘तर, अहिले रेमिट्यान्स उत्साहजनक रुपमा बढेको छ। पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ क्षेत्रमा तरलताको पनि क्रमश सहजता देखिन थालेको छ। यसले गर्दा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएका छन्। मलाई विश्वास छ यसमा थप सुधार हुँदै जान्छ।’

व्यवसायीहरुमा धेरै नै नैराश्यता देखिएको उल्लेख गर्दै ढकालले व्यवसायीहरुलाई निराश नहुनसमेत आग्रह गरे। ‘व्यवसायीहरु भनेको जस्तोसुकै असहज परिस्थितिमा पनि सहज र सकारात्मक हुने वर्ग हो। त्यसैले अहिलेको असहज परिस्थितिमा पनि हामीहरु संयमित भएर व्यवसाय गर्नुको विकल्प छैन। संयमित भएरै यसबाट पार पाउने हो’, उनले भने। 

ढकालले महासंघको आगामी चैत्र २८ र २९ गते हुने ५७औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वले व्यवसायीहरुका समस्याको समाधान गर्न पहल गर्ने बताए।