काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन्।
तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष मल्लले हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको बताए। ‘अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक छ’, उनले भने।
मल्लले आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्नेमा जोड दिए। ‘ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन सकेको छैन’, उनले भने, ‘त्यसैले लकअप प्रणालीमा जानुपर्छ।’
उद्योग–व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुआती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ थियो। मल्लले अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने बताए। ‘अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ। रोजगारी सिर्जना हुन सकेको छैन। उत्पादन हुन नसक्दा कृषिजन्य वस्तुहरुसमेत आयत गर्नुपर्ने अवस्था आउनु विडम्बना भएको छ’, उनले भने।
अध्यक्ष मल्लले स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई आग्रह गरे। स्थानीय तहमा उत्पादित बस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्ने उनले बताए।
9 minutes ago
15 minutes ago
24 minutes ago
32 minutes ago
45 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago