काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले स्वतन्त्रतापछिकै सबैभन्दा भयानक आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ।

करिब १ वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो र अर्बौं डलरको ऋणमा डुबेको श्रीलंकाका लागि यो लाइफलाइनभन्दा कम छैन।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बेलआउट प्याकेज स्वीकृत गरेकोमा आईएमएफलाई धन्यवाद दिएका छन्। उनले ट्विटमा भनेका छन्, ‘आईएमएफको यो प्याकेज देशको ऋण घटाउन र सुधारवादी एजेन्डा हासिल गर्न निकै महत्वपूर्ण छ।’

श्रीलंकाका विदेशमन्त्री अली साबरीले सरकारी कम्पनीहरुको पुनर्संरचना र राष्ट्रिय वायुसेवाको निजीकरण गरेर थप रकम जुटाइने बताए।

यद्यपि, विज्ञहरुले श्रीलंकाको अगाडि अझै कठिन बाटो रहेको चेतावनी दिइरहेका छन्। 

श्रीलंकाको अर्थतन्त्र कोरोना महामारी, ऊर्जाको बढ्दो मूल्य, जनवादी कर कटौती र ५० प्रतिशतभन्दा बढीको मुद्रास्फीति दरका कारण नराम्ररी प्रभावित भएको छ।

औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको अभावले देशमा जनताको जीवनयापनको मूल्यलाई कीर्तिमानी उचाइमा पुर्याउन मद्दत गरेको छ। जसका कारण देशव्यापी प्रदर्शन सुरु भयो र २०२२ मा सत्तारुढ सरकार छाड्नुपरेको थियो। फलस्वरूप श्रीलंकाले अन्तर्राष्ट्रिय ऋणदाताहरुलाई ऋण तिर्न नसकेपछि गत वर्षको मेमा पहिलोपटक यस्तो भयो।

यो वर्षको सुरुमा श्रीलंकाले तलब पाउने मानिसहरुका लागि कर दर १२.५% बाट बढाएर ३६% गरेको थियो। यससँगै इन्धन, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा पनि कर बढाइएको छ। –एजेन्सी