काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अस्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। 

लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अस्ट्रेलियादेखि नेपाल आएका थिए। अस्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका उनीहरुले काठमाण्डौैस्थित नर्भिक आईभीएफमा उपचार सुरु गरे।

चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आईभीएफकी बरिष्ठ स्त्री रोग तथा टेस्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासँग उपचार तथा परामर्श गराइन्। 

त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण पनि अरुणा दम्पतीले अस्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर अस्ट्रेलिया गएका थिए। 

अस्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेशले बताए। निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र १ छोरीलाई अहिले अस्पतालले बिशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ। 

योगेशका अनुसार प्रि म्याचर्ड डेलिभरी भएकाले बच्चाहरुको तौल कम हुँदा अस्पतालले बिशेष निगरानी र हेरचाह गर्नुपरेको हो। 

एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ। योसँगै नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको समेत त्यहाँ प्रशंसा भइरहेको छ। 

अस्ट्रेलियामा महिलाहरुको जीवनशैलीबारे समाचार र लेख प्रकाशन गर्ने अग्रणी न्युज पोर्टल nine.com.au ले नेपालकी अरुणा सिंह र योगेशले अस्ट्रेलियामा जम्ल्याह सन्तान जन्माएको विषयलाई रोचक ढंगले प्रस्तुत गर्दै ‘क्वीन्सल्याण्ड दम्पतीको चमत्कार, चम्ल्याहालाई स्वागत गरे, हामी छक्क पर्यौँ’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ। 

योेगेशलाई उद्धृत गर्दै उक्त अनलाइनले लेखेको छ, ‘सुरुमा अस्पतालले हामीलाई तीन जना बच्चा भन्यो, पछि ४ जनाभन्दा हामी अचम्म अनि छक्क पर्यौं। किनभने त्यो हाम्रा लागि अचम्म र अप्रत्यासित पनि थियो।’ 

उनीहरुले आफ्ना सन्तानको न्वरान पनि गरिकसेका छन्। तीन छोराको नाम क्रमश आर्ची, लुइस र एडी राखेका छन् भने छोरीको नाम अन्ना राखेका छन्। 

अस्ट्रेलियामा चम्ल्याह सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ। उक्त अनलाइनका अनुसार पछिल्लो ४ वर्षमा सो अस्पतालमा जन्मिने बच्चाहरुमध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो। 

फोटो स्रोतः https://honey.nine.com
अनलाइनको लिंक: https://honey.nine.com.au/parenting/miracle-quadruplets-born-in-brisbane/b80f21bd-b6f2-493a-bb00-8e6511adc8c2