काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा महँगीले ५ दशकयताकै कीर्तिमान तोडेको छ। वार्षिक आधारमा मार्चमा मुद्रास्फीति ३५.३७ प्रतिशत पुगेको छ। 

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट प्याकेजको नीति परिवर्तन गरेको छ। जसका कारण ब्याजदर बढेको र यसको प्रभाव धेरै कुरामा देखिएको छ। घट्दै गएको विदेशी मुद्रा सञ्चितिका कारण पाकिस्तानले दैनिक आवश्यकताका सामान आयात गर्न सकिरहेको छैन। जसका कारण जनताले पिठो, दालजस्ता वस्तुमा धेरै गुणा बढी तिर्नुपरेको छ।

यस आर्थिक संकटबाट बाहिर निस्कन पाकिस्तानलाई आईएमएफको बेलआउट प्याकेजको नितान्त आवश्यकता छ तर पाकिस्तानले अहिलेसम्म यो प्याकेज पाएको छैन। शनिबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार पाकिस्तानमा मुद्रास्फीति दर महिनाका आधारमा ३.७२ प्रतिशत रहेको छ। कमजोर वित्तीय व्यवस्थापन र राजनीतिक अस्थिरताले पाकिस्तानको अर्थतन्त्र ध्वस्त भएको छ। 

यस डरलाग्दो आर्थिक संकटबाट बाहिर निस्कन पाकिस्तानले आफ्नो विद्यमान ऋण तिर्नैपर्छ। यसका लागि उसलाई अर्बौं डलरको रकम चाहिन्छ। यस आर्थिक उथलपुथलको मार पाकिस्तानका गरिब जनताले भोगिरहेका छन्। रमजान महिनामा खाद्यान्न वितरण केन्द्रमा भीडभाडका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। कराँचीकी एक विश्लेषक शाहिदा विजारतले भनिन्, ‘जसरी महँगी बढ्दै गएको छ, मलाई लाग्छ भोकमरीजस्तो अवस्था सिर्जना भएको छ।’

दक्षिण एसियाली राष्ट्र पाकिस्तानले आर्थिक संकटबाट पार पाउन आईएमएफसँग लगातार बिन्ती गरिरहे पनि आईएमएफले अहिलेसम्म सहयोग स्वीकृत गरेको छैन। पाकिस्तानले विश्व निकायबाट १ अर्ब १ करोड डलरको बेलआउट प्याकेज मागेको छ। खराब आर्थिक अवस्थाका कारण पाकिस्तानमा अर्बौं रुपैयाँ ऋण छ।

पाकिस्तानको कुल ऋण र दायित्व ६० ट्रिलियन पाकिस्तानी रुपैयाँभन्दा बढी छ। जुन देशको जीडीपीको ८९ प्रतिशत हो। त्यसैगरी यो ऋणको करिब ३५ प्रतिशत चीनको मात्र हो, यसमा चीनका सरकारी वाणिज्य बैंकहरुको ऋण पनि समावेश छ। पाकिस्तानले चीनसँग ३० अर्ब डलर ऋण तिर्न बाँकी छ। जुन २०२२ को फेब्रुअरीमा २५.१ बिलियन डलर थियो। –एजेन्सी