काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण बढिरहेकाले खोप लगाउन सबैमा आग्रह गरेको छ। 

मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्।

शून्यमा झरेको कोरोना संक्रमण अहिले दैनिक बढिरहेको छ। शनिबारमात्र ६४ जनामा नयाँ संक्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको संख्या ३५६ जना पुगेका छन्। 

काठमाण्डौ उपत्यकामा मात्र शनिबारसम्म १५ जना आइसोलेसन, आठ जना सघन उपचार कक्ष (आइसीयू) र पाँचजना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। अहिले काठमाण्डौसहित उपत्यकाका ठूला अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदैछ। 

स्वास्थ्य कार्यालय काठमाण्डौका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ। काठमाण्डौका स्थानीय तहले पनि आवश्यकताअनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्। 

केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ देखा परेको छ। मन्त्रालयले संक्रमणको लक्षण देखिनेबित्तिकै परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोधसमेत गरेको छ।

- RSS