काठमाण्डौ । उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने हुनुपर्ने माग राखेका छन् । 

नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मंगलबार मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको दाबी गरे । 

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका सदस्यहरुले बजार अनुगमनपछि व्यापारीहरुलाई थुन्ने होइन, सुन्ने काम गर्नुपर्ने बताए । 

भेटमा चेम्वर अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए । ‘गल्ती गरे कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं ।’ अध्यक्ष श्रेष्ठले भने–‘तर गल्ती नै नगरी थुन्ने काम भने गर्नुहुँंदैन । पहिला उनीहरुको कुरा सुन्नुपर्छ, अनि मात्रै कारबाही प्रक्रिया अगाडि वढाउनुपर्छ ।’ 

अध्यक्ष श्रेष्ठले हालै मात्रै प्लाष्टिकको चामल बेचेको आरोपमा एकजना व्यापारीमाथि अन्यायमा पारेको बताए । उनले भने–‘चामल भन्दा प्लाष्टिक धेरै महँंगो छ , यसो हुँंदा कसले घाटा खाएर यो काम गर्छ ? तर कुनै अध्ययन अुनसन्धान नै नगरी कारबाही प्रक्रिया अगाडि बढाइयो ।’ 

भेटघाटमा मुख्य सचिव क्षेत्रीले प्रतिनिधिमण्डलले उठाएका विषयप्रति आफू सकारात्मक रहेको बताए ।