काठमाण्डौ । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म हो। कम्पनीले राम्रो सुरक्षाका लागि तीनवटा नयाँ फिचर जारी गरेको छ। 

नयाँ अपडेटमा अकाउन्ट प्रोटेक्ट, डिभाइस भेरिफिकेसन र अटोमेटिक सिक्योरिटी कोडका सुविधा थपिएका छन्। ह्वाट्सएपका अनुसार यसले सुरक्षा संयन्त्रलाई बढाइरहेको छ।

यसबाट प्रयोगकर्ताले आफ्नो अकाउन्ट सुरक्षित राख्न सक्छन्। मोबाइल ह्याकिङका बढ्दो घटनालाई ध्यानमा राख्दै यी फिचर जारी गरिएको हो।

यसरी गर्नेछ ह्वाट्सएपको नयाँ सुरक्षा सुविधाहरुले काम 

ह्वाट्सएप अकाउन्ट प्रोटेक्ट 

ह्वाट्सएपको यो सुविधाले प्रयोगकर्तालाई सुरक्षाको नयाँ तह प्रदान गर्दछ। जब एक प्रयोगकर्ताले आफ्नो फोन परिवर्तन गर्दछ र नयाँ फोनमा ह्वाट्सएपमा लगइन गर्दछ, उसले ओटीपीबाहेक अर्को एक स्टेप फलो गर्नुपर्नेछ।

ओटीपी एन्टर गरेपछि प्रयोगकर्ताको पुरानो फोनमा एक सूचना देखा पर्नेछ। जसमा प्रयोगकर्ताले नयाँ डिभाइसमा स्विच गर्न चाहनुहुन्छ कि भनेर सोध्नेछ। यो सुविधा स्वतः सक्रिय रहनेछ र यसका लागि कुनै पनि सेटिङमा जानुपर्दैन।

ह्वाट्सएपको यो फिचरले प्रयोगकर्तालाई आफ्नो अकाउन्टमात्र होइन आफ्नो यूपीआई अकाउन्ट पनि सुरक्षित राख्न मद्दत गर्नेछ। वास्तवमा यस्ता धेरै केस अगाडि आएका छन्, जसमा प्रयोगकर्ताको फोन हराएपछि उनीहरुको ह्वाट्सएप यूपीआईबाट पैसा ट्रान्सफर गरिएको छ।

डिभाइस भेरिफिकेसन 

नयाँ सुविधाले ह्वाट्सएप प्रयोगकर्तालाई उनीहरुको डिभाइस ह्याक भएमा सुरक्षा गर्नेछ। ह्वाट्सएपका अनुसार मालवेयर कुनै पनि स्मार्टफोनका लागि सबैभन्दा ठूलो खतरा हो। एडभान्स अकाउन्ट टेकओभर प्रविधिमा मालवेयरको सहयोगमा प्रयोगकर्ताको ह्वाट्सएपबाट मेसेज पठाउन सकिन्छ। यस्तो अवस्थामा ह्वाट्सएपको यो फिचरले प्रयोगकर्ताको अकाउन्टलाई सुरक्षित गर्नेछ।

ह्वाट्सएप अटोमेटिक सेक्युरिटी कोडहरु

ह्वाट्सएप च्याटहरु इन्ड–टु–इन्ड इन्क्रिप्सनका साथ आउँछन्। कम्पनीका अनुसार च्याटमा उपस्थित व्यक्तिहरुबाहेक अरु कसैले ती म्यासेज पढ्न सक्दैनन्। प्रयोगकर्ताले म्यानुअल रुपमा जाँच गर्न सक्छन् कि तिनीहरुको सम्पर्क इन्क्रिप्सन प्रयोग गरिरहेको छ वा छैन।

अब कम्पनीले अटोमेटिक सेक्युरिटी कोड फिचर थप्दैछ। यस फिचरको सहायताले प्रयोगकर्ताले आफ्ना च्याटहरु इन्क्रिप्टेड छन् वा छैनन् भनी स्वतः प्रमाणित गर्न सक्छन्। यसका लागि पहिले लामो प्रक्रिया पछ्याउनुपर्ने थियो। एजेन्सी