काठमाण्डौ । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर हुँदैछ।

सांसदहरुले समसामयिक मुलुकमा उठेका विविध विषयमा आधारित रहेर प्रधानमन्त्री दाहालसँग प्रश्न गर्नेछन्। प्रधानमन्त्रीलाई सोधिने प्रश्नहबारे प्रतिनिधिसभामा बुधबारसम्म २० जना सांसदले सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन्। यद्यपि, प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) भएको व्यवस्थाअनुसार आजको बैठकमा १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनेछन्। सोही व्यवस्थाबमोजिम प्रश्न गर्न चाहने सांसद्ले विषयवस्तुसहित ३ दिनअगावै जानकारी गराउनुपर्छ। 

प्रतिनिधिसभाको नियमावलीमा महिनाको एकपटक प्रश्नोत्तर गर्ने सक्ने व्यवस्था उल्लेख भए पनि मौजुदा संसदमा पहिलोपटक प्रश्नोत्तर हुन लागेको हो। १५ जना सांसदमध्ये सत्तासाझेदार दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेका ३–३जनाले सांसदले प्रश्न गर्न पाउनेछन्। 

यसैगरी सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका १–१ जना सांसदले प्रश्न गर्न पाउनेछन्। 

कांग्रेसबाट ईश्वर न्यौपाने, दिलेन्द्र बडु, रामहरि खतिवडा, दीपक गिरीले नाम टिपाएको संसद् सचिवालयले जनाएको छ। तीमध्ये एकजनाको नाम फिर्ता लिन सभामुखले आग्रह गरेका छन्।

यसैगरी एमालेका प्रमुख सचेतक पदम गिरी, सांसदहरुले विद्या भट्टराई र रघुजी पन्तले प्रश्न टिपाएका छन्। माओवादी केन्द्रका पूर्णबहादुर घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र एकीकृत समाजवादीका मेटमणि चौधरीले पनि प्रश्न टिपाएका छन्।

उता जनता समाजवादी पार्टीका दीपक कार्की, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीका अनीता देवी र नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।

संसदमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका एकएक सांसद छन्। स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि छन्। उनीहरुका तर्फबाट एकजनालाई प्रश्न सोध्न दिने तय गरिएको छ। सांसदहरुको प्रश्नमा नक्कली भुटानी शरणार्थी, प्रधानमन्त्रीको भारत भ्रमण, नागरिकतालगायतका विषयमा समेटिएका छन्। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइबारे सोध्नेछ।