काठमाण्डौ । एलन मस्कको ब्रेन–चिप कम्पनी न्युरालिंकले ह्युमन ट्रायलको मन्जुरी पाएको छ। 

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले मन्जुरी दिएको हो। यो चिपका माध्यमबाट दृष्टिविहीनले देख्न पाउने, पक्षघातका बिरामीले दिमागमा सोचेरै मोबाइल र कम्प्युटर चलाउन सक्नेछन्। 

एफडीएले मन्जुरी दिएपछि एलन मस्कले न्युरालिंक टोलीलाई बधाइ दिएका छन्। ‘हामीले हाम्रो पहिलो ह्युमन ट्रायल सुरु गर्न एफडीएबाट स्वीकृति भएको कुरा सेअर गर्न पाउँदा उत्साहित छौँ ! यो एफडीएसँग नजिकको सहकार्यमा न्युरालिंक टोलीको अविश्वसनीय कामको परिणाम हो। एक दिन हाम्रो प्रविधिले धेरै मानिसलाई मद्दत गर्नेछ। हाम्रो ह्युमन ट्रायलका लागि रिक्रुटमेन्ट अहिले खुला गरेका छैनौँ। हामी यसबारे थप जानकारी छिट्टै दिनेछौँ’, न्युरालिंकले भनेको छ। 

मस्कले ६ महिनाअघि न्युरालिंकको क्यालिफोर्नियाको मुख्यालयमा ‘शो एन्ड टेल’ कार्यक्रममा आफ्नो डिभाइसको प्रगतिबारे जानकारी गराएका थिए। उनले ब्रेन चिप इन्टरफेस स्टार्टअपको विकसित वायरलेस डिभाइस ६ महिनामा ह्युमन ट्रायलका तयार हुने बताएका थिए। यसको स्वीकृतिका लागि एफडीएमा कागजपत्र पेस गरिएको उनले जानकारी गराएका थिए। 

मस्कले ६ वर्षअघि ब्रेन कन्ट्रोल इन्टरफेस स्टार्टअपको स्थापना गरेका थिए र २ वर्षअघि आफ्नो इम्प्लान्टेसन रोबोट देखाएका थिए।

कार्यक्रममा मस्कले बाँदरले जोइस्टिक प्रयोग नगरी पिनबल खेलेको भिडियो पनि देखाएका थिए। बाँदरले टेलिप्याथीमार्फत पनि टाइप गरेको थियो। न्युरालिंक टोलीले आफ्नो सर्जिकल रोबोट पनि प्रदर्शन गरेको थियो। यसले रोबोटले सम्पूर्ण शल्यक्रिया कसरी गर्छ भन्ने देखाएको छ।

न्युरालिंक डिभाइस के हो?

फोनलाई ब्रेनमा कनेक्ट गरिनेछ

न्युरालिंकले सिक्का आकारमा एउटा डिभाइस बनाएको छ। जसको नाम ‘लिंक’ दिइएको छ। यो उपकरणले कम्प्युटर, मोबाइल फोन वा अन्य कुनै पनि उपकरणलाई ब्रेन एक्टिभिटी (न्युरल इम्पल्स)द्वारा सीधा कन्ट्रोल गर्न सक्षम बनाउँछ। उदाहरणका लागि पक्षाघात भएको व्यक्तिले ब्रेनमा चिप प्रत्यारोपण गरेपछि माउसको कर्सर कसरी सार्न चाहन्छ भन्ने सोचेरमात्रै माउसको कर्सर सार्न सक्षम हुनेछ।

कस्मेटिक रुपमा अदृश्य चिप

‘हामी पूर्ण रुपमा प्रत्यारोपण गर्न मिल्ने, कस्मेटिक रुपमा अदृश्य मस्तिष्क–कम्प्युटर इन्टरफेस डिजाइन गर्दैछौँ। ता कि तपाइँ जहाँ गए पनि कम्प्युटर वा मोबाइल डिभाइस नियन्त्रण गर्न सक्नुहुन्छ’, न्युरालिंकले भनेको छ। माइक्रोन–स्केल थ्रेडहरु मस्तिष्कको ती क्षेत्रहरुमा हालिनेछ, जसले मुभमेन्टलाई कन्ट्रोल गर्छ। प्रत्येक थ्रेडमा धेरै इलेक्ट्रोडहरु हुन्छन् र तिनीहरुलाई ‘लिंक’ नामक इम्प्लान्टले जोड्दछ।

रोबोटिक प्रणाली डिजाइन

कम्पनीले लिंकहरुमा थ्रेडहरु यति राम्रो र लचिलो छन् कि तिनीहरुलाई मानिसको हातले हाल्न सकिँदैन। यसका लागि कम्पनीले एक रोबोटिक प्रणाली डिजाइन निर्माण गरेको छ। जसले थ्रेडलाई सुरक्षित र प्रभावकारी रुपमा प्रत्यारोपण गर्न सक्छ। 

यसका साथै न्युरालिंक एप पनि डिजाइन गरिएको छ। ता कि मानिसले आफ्नो किबोर्ड र माउसलाई दिमागको गतिविधिबाट सीधै यसको बारेमा सोचेर नियन्त्रण गर्न सकून्। 

उपकरण पनि चार्ज गर्न आवश्यक हुनेछ। यसका लागि एक कम्प्याक्ट इन्डक्टिव चार्जर डिजाइन गरिएको छ। जसले ब्याट्रीलाई बाहिरी रुपमा चार्ज गर्न इम्प्लान्टसँग ताररहित रुपमा जडान गर्दछ।

एउटा चिपले ल्याउनेछ क्रान्ति 

‘हाम्रो टेक्नोलोजीको प्रारम्भिक लक्ष्य भनेको पक्षाघात भएका मानिसलाई कम्प्युटर र मोबाइल उपकरणहरुको नियन्त्रण दिनु हो’, न्युरालिंकले भनेको छ, ‘हामी उनीहरुलाई आत्मनिर्भर बनाउन चाहन्छौँ। हामी चाहन्छौँ कि एक दिन यस्ता व्यक्तिहरुले हाम्रो उपकरणमार्फत फोटोग्राफीजस्ता आफ्नो रचनात्मकता देखाउन सक्छन्। हामी विश्वास गर्छौं कि यो प्रविधिमा धेरै स्नायुसम्बन्धी विकारहरुको उपचार गर्ने क्षमता छ।’

यो चिप लगाउनु सुरक्षित हुनेछ ?

चिप प्रत्यारोपण गर्दा सामान्य एनेस्थेसियासँग सम्बन्धित जोखिम सधैँ रहन्छ। यस्तोमा प्रोसस टाइमलाई घटाएर जोखिम कम गर्न सकिन्छ। कम्पनीले यसका लागि एक न्युरो सर्जिकल रोबोट डिजाइन गरेको छ। जसले गर्दा यसले इलेक्ट्रोडलाई राम्रो तरिकाले प्रत्यारोपण गर्न सक्छ।

यसका अलावा रोबोटको स्कल (खोपडी)मा २५ मिमी व्यासको प्वालबाट धागो घुसाउन डिजाइन गरिएको छ। मस्तिष्कमा उपकरण घुसाउँदा रगत बग्ने जोखिम पनि हुन्छ। कम्पनीले यसलाई कम गर्न माइक्रो–स्केल थ्रेडहरु प्रयोग गरिरहेको छ।

ब्रेन–कम्प्यूटर इन्टरफेसको प्रयोग

एलन मस्कको चिप बनाउने प्रविधिलाई ब्रेन–कम्प्युटर इन्टरफेस वा छोटकरीमा बीसीआई भनिन्छ। अन्य धेरै कम्पनीेले पनि वर्षौंदेखि यसका लागि काम गरिरहेका छन्। यी प्रणालीले मस्तिष्कमा राखिएका साना इलेक्ट्रोडहरु नजिकैको न्युरोन्सबाट ‘पढ्न’ संकेतहरु प्रयोग गर्छन्। सफ्टवेयरले त्यसपछि यी संकेतहरुलाई आदेश वा कार्यमा डिकोड गर्दछ। जस्तै– कर्सर वा रोबोट हात सार्न। –एजेन्सी