काठमाण्डो । आगामी असोज दोस्रो साता काठमाण्डौको भृकसटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्सपो आयोजना हुने भएको छ। 

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले असोज १० देखि १४ गतेसम्म एक्सपो आयोजना गर्न लागेको हो। 

एक्सपोको लन्चिङ कार्यक्रमको आयोजना गरी आयोकजले एक्सपोका सम्बन्धमा औपचारिक जानकारी गराएको हो। इभेन्ट लन्चिङकै दिनदेखि एक्सपोको स्टल बुकिङ खुल्ला गरिएको छ। पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भएका छन्।  

नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए। ‘आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजार चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ, स्टल बुकिङ खुल्ला भएको छ, फर्निचर व्यवसायमा आबद्ध व्यवसायीहरुलाई सहभागिताका लागि संघ अनुरोध गर्दछ’, उनले भने। 

एक्सपोका संयोजक निकुञ्ज अग्रवालका अनुसार संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेन्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ। यसका साथै अनलाइन माध्यमबाट स्टक बुकिङ गर्ने व्यवस्था गर्ने अन्तिम तयारी भएको पनि आयोजकले जनाएको छ। 

एक्सपोमा १०० भन्दा बढी स्टलहरु रहनेछन्। एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमै स्टल बुकिङ गर्न एक्सपो संयोजक अग्रवालले आग्रह गरेका छन्। 

फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीहरुलाई समेटेर बृहत र भव्य रुपमा आयोजना हुन लागेको एक्सपोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो। 

एक्सपोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ। एक्सपोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्गनिर्देशन गर्नेछ भने ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामग्री उपलब्ध गराउन भूमिका खेल्ने विश्वास आयोजकको छ। 

यसका साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्ने एक्सपोको उद्देश्य छ।