बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी औपचारिक उद्घाटन गरेका हुन्। 

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो। बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

उद्घाटनपछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुंगेधारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ। 

यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्यादेवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो। सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिएका थिए। 

वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। 

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याउनेछ। 

आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो। यसअघि आइएमई समूहले काठमाण्डौको चन्द्रागिरी र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ। 

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए। लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरुसहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीको सामुहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको पनि उनले उल्लेख गरे। 

रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्याउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए। 

अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पूरा गर्न यो परियोजना कोशेढुंगा साबित हुने आशा लिएको बताए। उनले केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानको पनि घोषणा गरे। 

अध्यक्ष ढकालले यस सर्किटअन्र्तगत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गयौँ भने यही बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरी, कालिञ्चोकहुँदै पाथीभरासम्म पुग्न सकिने अवस्था सिर्जना गर्न सकिने बताए। ‘भोलिका दिनमा यो सर्किटको विस्तार अन्य धार्मिक पर्यटकीय स्थलसम्म पुग्नसक्छ। नेपालमा पर्यटकको बसाइ अवधि बढाउनुपर्ने आवश्यकता महसुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाइ लम्बाउन योगदान दिन सक्छ’, उनले भने।

लुम्बिनी केवलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणका क्रममा छन्। मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। 

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ। बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए। 

केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेललगायत संरचना निर्माण हुनेछन्।