काठमाण्डौ । मुलुकमा मुद्रास्फीतिको अवस्थामा सामान्य सुधार भएको देखिएको छ। यद्यपि काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च देखिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको छ। वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो महिना चैतमा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत थियो। अघिल्लो वर्षको वैशाखमा भने यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटेलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १०.४१ प्रतिशत र सूर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा काठमाण्डौ उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७९ वैशाख महिनामा यी क्षेत्रमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो।
14 minutes ago
16 minutes ago
22 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago