काठमाण्डौ । एनसेल प्रालिले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पुर्याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । साथै, ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ ।

कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पुर्याउन मद्दतका लागि निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको छ । 

सापटी सेवाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले रु ४० प्राप्त गर्दै आएकोमा मंगलबारसम्मका लागि रु ६० प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । ग्राहकले विद्यमान सेवा शुल्क रु २.५१ मा नै थप सापटी रकमको सुविधा लिन सक्छन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्छन् । 

यसका साथै एनसेलले अन्य बेलामा सेवा शुल्क रु १.२५ लाग्दै आएको ब्यालेन्स ट्रान्सफर सुविधालाई पनि निःशुल्क बनाएको छ । यो सुविधा पनि मंगलबारसम्म जारी रहनेछ ।

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई आफ्ना प्रियजनसँग आकस्मिक सूचना आदानप्रदान गर्न सघाउने उद्देश्यले निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ संचालनमा ल्याएको छ । यसअन्र्तगत प्रभावित क्षेत्रका एनसेल ग्राहकले ९००८ मा तथा अन्य नेटवर्कका ग्राहकहरुले ९८०९००८००० मा डायल गरी कम्पनीको कल सेन्टरमा रहेका प्रतिनिधिमार्फत आफ्ना सूचना आफ्ना प्रियजनमा पुर्याउन सक्छन् ।  

“बाढी तथा पहिरोले देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति हामी दुःखी छौं । यस विपतको समयमा संचालनमा ल्याईएका थप सापटी सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालीन कल सेन्टर तथा निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ ले ग्राहकलाई सम्पर्कमा रहन सहज बनाउने तथा उद्दार र राहत कार्यमा योगदान पुर्याउने विश्वास छ,” एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । 

“यस प्राकृतिक प्रकोपको समयमा पनि एनसेलको नेटवर्क निरन्तर संचालनमा रहेको र ९० प्रतिशतभन्दा बढी बिटिएस टावरमार्फत सेवा प्रदान गरिरहेका छौं । केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको त्यस्ता ठाउँमा जेनेरेटर संचालनमा ल्याउन हामी पानीको सतह कम होस् भनी प्रतिक्षा गरिरहेका छौं,”आचार्यले भने ।

सापटी सेवाका लागि एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सापटी लिन सक्नेछन् । त्यसैगरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप प्राप्त रकम रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट सेवा शुल्कसहित घटाइनेछ ।