– मनिष सोती
काठमाण्डौ । नेपाल इन्स्योरेन्सले चुक्तापुँजी वृद्धिका लागि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले असोज ३ गतेदेखि कुल १९ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। कम्पनीले असोज २३ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न पाउनेगरी प्रतिकित्ता ३८२.१३ रुपैयाँमा साढे १९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो। यदि कम्पनीको सबै सेयर सोही भाउमा नै बिक्री भएको खण्डमा कम्पनीलाई ७३ करोड ४८ लाख रुपैयाँ पुँजी प्लस हुन आउँछ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएबमोजिम कम्पनीले आफ्नै सम्पत्ति लिलाम गरी वा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयरहरु बिक्री प्रक्रिया अघि बढाएको छ।
कम्पनीले यसअघि आफ्नो नाममा रहेका विभिन्न ठाउँका घर–जग्गा लिलाम गरी पुँजी पुर्याउने टार्गेट बनाएको थियो। तर, घर–जग्गाको कारोबारबाट तत्कालै पुँजी वृद्धिको सम्भावना नदेखिएकाले प्राधिकरणले कम्पनीलाई पुनः क्यापिटल प्लान पेस गर्न निर्देशन दिएको थियो।
प्राधिकरणको निर्देशनबमोजिम कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमार्फत पुँजी बृद्धि गर्ने प्लान पेस गरेको थियो। नेपाल पुनर्बीमा कम्पनीको सेयरपश्चात् कुमारी बैंकको सेयर पनि बिक्री गर्ने कम्पनीले जनाएको छ। ‘नेपाल इन्स्योरेन्ससँग सम्पत्ति र विभिन्न कम्पनीहरुमा भएको संस्थापक सेयर बिक्री गरेर पुँजी वृद्धि गर्न सक्ने क्षमता छ’, कम्पनीका डेपुटी सीईओ ईश्वर पोखरेलले भने, ‘प्राधिकरणको निर्देशनबमोजिम हामीले नेपाल रिको सेयर बिक्रीमा राखेका छौँ, सो कम्पनीको सेयर बिक्री भएमा कुमारी बैंकको समेत सेयर बिक्रीमा राख्नेछौँ।’
यसका साथै पुँजी वृद्धिका लागि स्थिर सम्पत्ति हालसम्म पनि बिक्रीमा राखेको कम्पनीले जनाएको छ। बिक्रीमा राखेको सम्पत्ति, पुनर्बीमा कम्पनी र कुमारी बैंकको सेयर बिक्री भएमा तोकिएको चुक्तापुँजी पुग्ने पोखरलले बताए। ‘यदि घर–जग्गा, संस्थापक सेयरहरु बिक्री गरेर पनि पुँजी नपुगेमा हकप्रदको बाटो रोज्नुपर्छ’, पोखरलले भने।
यसअघि बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले संस्थापक सेयरहरु बिक्री गरेर पनि पुँजी अपुग भएको खण्डमा हकप्रद सेयर जारी गर्न दिने बताएका थिए।
हाल नेपाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ रहेको छ। प्राधिकरणले तोेकेको २ अर्ब ५० करोड पुँजी पुर्याउन कम्पनीलाई अझै १ अर्ब ५३ लाख रुपैयाँ पुँजी आवश्यक रहेको छ। यदि नेपाल पुनर्बीमा कम्पनीको सम्पूर्ण सेयर तोकिएको मूल्यमा बिक्री भएमा कम्पनीको पुँजी २ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले कुमारी बैंकको सेयर बिक्रीका लागि भने हालसम्म कुनै पनि नोटिस निकालेको छैन।
20 minutes ago
42 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago