काठमाण्डौ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लाका सर्वसाधारणहरुलाई सिमकार्ड निःशुल्क वितरण गरिरहेको छ । 
 
बाढीप्रभावित जिल्लाहरु झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा रु. ५०।– को टक भ्यालूसहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरिरहेको टेलिकमले जनाएको छ । 
 
बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकहरुले आफूूले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सोको सट्टामा अर्को सिम कार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउनेछ । 
 
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा यही भाद्र १२ गते देखि २६ गतेसम्म उपलब्ध हुने बताइएको छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिनेछ ।