काठमाण्डौ । चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषदले चेन्दु प्रान्तको जिलिङमा आयोजना गरेको उत्तरपूर्वी एसियाका उद्योग वाणिज्य संघहरुको सम्मेलन यही भाद्र १७ गते सम्पन्न भएको छ।

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा चीनलगायत रुस, जापान, दक्षिणकोरिया, मलेशिया र नेपालका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागिता थियो । 

सम्मेलनमा विशेषगरी चीनलगायत विभिन्न मुलुकहरुका निजी क्षेत्रका साथै चेम्बरहरुबीचको आपसी समझदारीका साथै आर्थिक र लगानी बिस्तारका सम्भावनाका बारेमा वृहद छलफल भई आपसी सहकार्यलाई अघि बढाउने समझदारी भएको छ ।

सो सम्मेलनमा नेपालको निजी क्षेत्रको तर्फबाट परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले नेतृत्व गरेका थिए । परिसंघका राष्ट्रिय परिषदका सदस्य एवं युवाउद्यमी मञ्चका संयोजक रोहीत गुप्ता समेत सम्मिलित सम्मेलनलाई उपाध्यक्ष निर्वाण चौधरीले “नेपालमा लगानी विकासको सम्भावना र क्षेत्रीय सहयोग”को विषयमा आफ्नो धारणासहित सम्बोधन गरेका थिए । 

सो क्रममा चौधरीले नेपाल आर्थिक विकास, पूर्वाधार निर्माण र लगानीको लागि प्रचुर सम्भावना भएको मुलुक भएको तथा लगानीका लागि मैत्रीपूर्ण वातावरण नै नेपालको प्रमुख विशेषता भएकोले यसमा विशेषतः चीनको भूमिका एवं सहयोग महत्वपूर्ण हुने बताएका थिए । 

यस्तै, भदौ १७ गते आयोजित एक विशेष समारोहमा नेपाल उद्योग परिसंघ तथा चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषदका बीचमा समझदारी पत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ । उपाध्यक्ष चौधरीले सम्झौताले दुवै देशबीचको आर्थिक, औद्योगिक लगानी र व्यापार विस्तारका साथै दुवै संस्थाहरुबीचको सहकार्य बढाउनमा थप भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।