काठमाण्डौ । दूरसंचार प्रदायक कम्पनी स्मार्ट सेलले दशैंतिहारको अवसर पारेर भ्वाइस, डाटा र एसएमएसमा आकर्षक आधा दर्जन अफर ल्याएको छ । 

सोमबारदेखि नै ग्राहकलाई नयाँ सीम किन्दा, एमएमएस गर्दा तथा डाटा प्रयोग गर्दा यी अफर लागू हुने स्मार्टसेलले जनाएको छ । 

नयाँ सिम कार्ड किनेर गरिने पहिलो रिचार्जमा ग्राहकलाई स्मार्टदेखि स्मार्टमा कल गर्दा प्रतिसेकेण्ड एक पैसा र स्मार्टबाट अन्य नेटवर्कमा फोन गर्दा प्रति सेकेण्ड दुई पैसा लाग्ने अफर ल्याएको छ । पहिलो रिचार्ज ९० दिनसम्म उपयोग गर्न सकिनेछ । 

योसँगै सबै ग्राहकलाई १०० एमबी डाटा र १०० एसएमएस ३० दिनसम्म स्मार्टबाट सबै नेटकर्वमा निःशुल्क उपलब्ध हुनेछ ।  

स्मार्टले अनलिमिटेड अफर अन्तर्गत ९७ रुपैयाँको प्याक किनेपछि ३० दिनसम्म चाहेजति कुरा गर्न सकिन्छ । त्यस्तै ५७ रुपैयाँको प्याक किनेपछि १५ दिन र ३७ रुपैयाँको प्याकले एकसातासम्म चाहेजति कुरा गर्न सकिन्छ । 

त्यस्तै, १२ रुपैयाँको एसएमएस प्याक किन्दा स्मार्टबाट सबै नेटवर्कमा ५० पैसा प्रति एसएमएस लाग्नेछ । त्यस्तै, २४ रुपैयाँको एसएमएस प्याक खरिद गर्दा स्मार्टदेखि स्मार्टमा तीनहजार एसएमएस गर्न सकिनेछ ।

स्मार्टको १९९ रुपैयाँको भ्वाइस प्याक किन्दा ५०० मिनेट कुरा गर्न पाउने अर्को अफर पनि ल्याएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसमध्ये स्मार्टभित्र ३५० मिनेट र बाहिर १५० मिनेट कुरा गर्न पाइनेछ । 

रिचार्ज कार्ड खरिद गर्दा १० देखि ३५ प्रतिशत बोनस पाइने अफर समेत ल्याइएको छ । 

१९ रुपैयाँको डाटा प्याक किन्दा एकदिन चाहेजति डाटा चलाउन सकिन्छ । त्यस्तै, १०९ रुपैयाँमा सात दिन, १८९ रुपैयाँमा १५ दिन र २९९ मा ३० दिन अनलिमिटेड डाटा चलाउन सकिन्छ । 

३० दिनका लागि १४८ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराएको स्मार्टले जनाएको छ । ९८ रुपैयाँमा ७५० एमबी १५ दिनसम्म र ५८ रुपैयाँमा पाँचसय एमबी डाटा सात दिनसम्म चलाउन सकिनेछ ।

स्मार्ट टेलीकमका चिफ कमर्सियल अफिसर राजीव कुमारले सबै चाडलाई ध्यानमा राख्दै ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले भ्वाइस, डाटा र  एसएमएसमा आकर्षक अफर ल्याएको बताए । नयाँ र अहिले भइरहेका स्मार्ट ग्राहकलाई फाइदा पुग्ने गरी अफर ल्याएको उनले बताए ।