काठमाण्डौ । उतारचढावपूर्ण दोश्रो बजारमा जुन मूल्यमा सहजै सेयर पाइराखिएको छ, त्यही मूल्यमा पाउन झञ्झटिलो लिलामी प्रक्रियामा सहभागी हुने मूर्खता कुन लगानीकर्ताले गर्ला ? लिलामीमा सकार्नुपर्ने न्यूनतम मूल्य भन्दा अझ कममा त्यही कम्पनीको सेयर दोश्रोबजारमा फालाफाल छ भने बढी मूल्य हाल्ने मूर्खता यो जमानामा कस्ले पो गर्ला र ? अर्कोतर्फ, सेयर लिलामीमा राख्नेले बोल मूल्य तोक्नुुभन्दा अगाडि यति कमन सेन्स पनि लगाउन नसक्दा जस्तो धक्का व्यहोर्नुपर्ने हो, नेपाल बैंकले डिप्रोक्स लघुवित्त विकास बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीका लागि त्यस्तै अवस्था व्यहोर्नुपरेको छ । 

प्रतिकित्ता १२०० रुपैयाँको दरले दोश्रो पटक लिलामीमा राखिएको ५१ हजार ७ सय ५८ कित्तामध्ये २ हजार मात्र बिक्री भएको छ, बाँकी सबै सेयर बिक्री भएन । नेपाल बैंकको मूर्खतापूर्ण निर्णय र लगानीकर्ताको सचेत निर्णयले सेयर भनेपछि नेपाली लगानीकर्ता जस्तोसुकै र जति पनि मूल्यमा पैसा हाल्छन् भन्ने नेपाल बैंकको हलुका सोचाई गलत साबित भएको छ । अन्ततः नेपाल बैंकको व्यवस्थापनको केटाकेटीपनका कारण डिप्रोक्स सेयर दोश्रो पटकको लिलामीबाट पनि बिक्री हुन सकेन । यसले आफ्नो नाममा रहेको विभिन्न कम्पनीको सेयर बिक्री तथा अचल सम्पत्ति बिक्रीबाट समेत जगेडाकोष बढाएर राम्रो नाफा देखाउँदै आएको बैंकको योपटकको त्यही दाउमाथि पनि धक्का लागेको छ ।  

पहिलो लिलामीबाट सबै सेयर बिक्री नभएको अवस्थामा बैंकले भने पहिलाकै मूल्य तोकेर बोलपत्र आह्वान गरेको थियो । दोश्रो बजारमा सहजै र तोकिएको न्यूनतमभन्दा कम मूल्यमा पाइने सेयरमा लगानीकर्ताले जानाजान धेरै मूल्य हाल्ने अवस्थै थिएन ।

यसअघि डिप्रोक्सको १ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखे पनि सबैमा बोलपत्र नपरेपछि पुनः लिलामी नभएको ५१ हजार ७ सय ५८ कित्ता सेयरका लागि पुनः बोलपत्र आह्वान गरिएको थियो । पहिलो पटक बोलपत्र आह्वान गर्दा र दोश्रोपटक पुनः लिलामी खुलाउँदाको अवस्था निकै फरक थियो । तर, बजारको अवस्थालाई नबुुझेर नेपाल बैंक व्यवस्थापनले आफ्नै कारणले दुःख पाएको छ ।  

सिद्धार्थ क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गरेको थियो । क्यापिटलका एक अधिकारीका अनुसार दोश्रोपटक पुनः खुलाइएको लिलामी प्रक्रियामा असोज २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने थियो । असोज २४ गते बोलपत्र खोलिएको थियो, जसमा १२०० भन्दा कम मूल्य राखेर ३ हजार कित्ताका लागि आवेदन परेको थियो, पूर्वशर्त अनुसार त्यो अस्वीकृत भयो । तर, १२०० रुपैयाँ भन्दा केही बढी मूल्य राख्नेले भने २ हजार कित्ताको हाराहारीमा सेयर पाएका छन् । 

डिप्रोक्स लघुवित्तको दोश्रो बजारमा प्रति कित्ता सेयरको अन्तिम कारोबार मूल्य १२०१ रुपैयाँ रहेको छ ।