काठमाण्डौ । क्रिप्टोकरेन्सी बिटक्वाइन बिहीबारको कारोबारबाट पहिलोपटक १८ हजार डलरको उचाईमा पुुगेको छ । २४ घण्टाको अवधिमा यो पटक यसको मूल्यमा ५० प्रतिशतको उछाल आएको हो । नेपालले यसको कारोबारमा प्रतिबन्ध लगाएको छ भने भारतका नियामकहरुले समेत यसको कानूनी कारोबारलाई अनुमति दिएका छैनन् । तर, भारतमै पुुगेर कतिपय नेपाली कारोबारीहरुले समेत बिटक्वाइनमा दाउ लगाइरहेका छन् । कतिपयले नेपालमै बसेर लुकिछिपी कारोबार गरिरहेका छन् । 

बिटक्वाइनको बुधबारको मूल्य १२ हजार डलर थियो । यसको यो मूल्यमा यो वर्षमात्र करिब १८०० गुणाको वृद्धि भइसकेको छ । सन् २०१७ को सुरुवातमा बिटक्वाइनले १००० डलरको लेभलमा कारोबार गरिरहेको थियो । 

एकदिनमै साढे ५ लाख आम्दानी
२४ घण्टाभित्र बिटक्वाइन १२००० डलरबाट बढेर १८ हजार डलरको उचाईमा पुुग्यो । यसको अर्थ एउटा बिटक्वाइनमा लगानी गर्ने लगानीकर्ताले एकदिनमै साढे ५ लाख बढी कमाएका । यो वर्षको सुरुवातमा १००० डलरमा सीमित बिटक्वाइन गत हप्ता मात्रै १० हजार डलरको उचाईमा पुुगेको थियो । त्यसपछि पनि यसको उछाल यात्रा रोकिएको छैन । 

जानकारहरुका अनुसार यस्ता भर्चुअल करेन्सीको कुनै कानूनी मान्यता हुँदैन । यस्ता करेन्सीको कारोबारको कानूनी रेकर्ड समेत हुँदैन । त्यसकारण जोखिममा खेल्नेहरुले मात्र यस्ता करेन्सीमा लगानी गर्छन् । यो करेन्सीलाई कसले बनाएको हो भन्ने कुरा अहिलेसम्म कसैलाई थाहा छैन । 

रोचक कुरा, यसको कोडलाई अहिलेसम्म कुनै पनि विज्ञले तोड्न सकेको छैन । 

बिटक्वाइनको बजार मूल्य २३० अर्ब डलर भन्दा बढी पुगिसकेको छ । यो विश्वका कयौं देशको अर्थतन्त्र भन्दा बढी हो ।