काठमाण्डौ । नेपाल टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत माघ २० गते शनिवार नेपाल टेलिकम पनि २४७ औँ हप्ताको बागमती सफाइ महाअभियानमा सहभागी भएको छ ।
 
सो अवसरमा कम्पनीले बागमती सफाइ महाअभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको छ । 
 
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् । 
 
सफाइ अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि १ सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, ३ सय जोर ठूलो पञ्जा,  ५० वटा फलामे सुइरो, ५० वटा थुन्से र ५ सय वटा भन्दा बढी मास्क हस्तान्तरण गरिएको थियो ।  
 
प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बागमतीका साथै नेपालका सम्पूर्ण नदीहरु सफा गर्नुपर्ने आवश्यकतामा जोड दिदै यस्ता कार्यमा कम्पनीले सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले फोहोरको स्रोत नै बन्द गर्नु राम्रो भएकाले यसतर्फ ध्यान दिन पनि सबैलाई आग्रह गरिन् ।
 
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेतले नेपाल टेलिकमले विगत देखि नै बागमती सफाइमा पुर्याउदै आएको योगदानको प्रशंसा गर्दै कम्पनीको प्रगतिको कामना गरिन् ।
 
टेलिकमले बागमती सफाइ अभियान शुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएस पे्रषित गर्दै आएको छ ।
शनिवार सफाइ अभियान सुरु हुनु अघि कम्पनीमा कार्यरत कर्मचारीहरु बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा भेला भई लामबद्ध रुपमा अभियन्ताहरुको अगुवाइमा बागमती कोरिडोर हुँदै शंखमुल निकट सफाइ स्थल बागमतीमा पुगेका थिए । उक्त सफाइ अभियानमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक, नायव प्रबन्ध निर्देशकहरु, प्रबन्धकहरु, बरिष्ठ अधिकृतहरु लगायत उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 
नेपाल टेलिकमको वार्षिकोत्सवकै सन्दर्भमा आज कर्मचारीहरुका बीच ५ किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका बुद्धिचाल, ब्याडमिन्टन, टेबुलटेनिस, हाजिरी जवाफलगायतका प्रतियोगिताहरु यस अघि नै सम्पन्न भइसकेका छन् । विजयी खेलाडीहरुलाई आजै आयोजित एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र  अतिरिक्त क्रियाकलाप समितिका संयोजक तथा प्रमुख मानव संसाधन अधिकृत राजुबाबु अर्यालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।