काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायीत्वसँगै स्थायी सरकारको निर्माण भएकोले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण सरकारले यथासक्य छिटो तयार गर्ने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले नेपालउद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँगको चैत्र १५ गते भएको भेटवार्ताको क्रममा त्यस्तो विश्वास व्यक्त गरेका हुन्।

विकास किन भएन, यसको दोष र जिम्मा कसैले लिने वा दिने भन्दा पनि यसमा आजसम्म देखिएको कमीकमजोरी हटाई सरकार र निजी क्षेत्र एक अर्कोलाई विश्वासमा लिएर साझेदारीको धारणाले काम गर्नुपर्ने धारणा व्यक्त गर्दै उपराष्ट्रपति पुनले पूँजीको सिर्जना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने भएकोले यसमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरे ।

सो अवसरमा उपराष्ट्रपतिमा पुनःनिर्वाचित भएकोमा पुनलाई बधाई र शुभकामना व्यक्त गर्दै परिसंघका अध्यक्ष हरि भक्तशर्माले परिसंघले सधैं मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनलाई केन्द्रमा राखी आफ्ना धारणाहरु व्यक्त गर्दै आएको र सरकारसँग सहकार्य समेत गरेको बताए ।

उनले अब सबै क्षेत्रको लक्ष्य मुलुकको समृद्धि नै भएकोले यो लक्ष्यमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा परिसंघले परिसंघ–प्रवुद्ध परिषद समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्गचित्रबारे उपराष्ट्रपतिलाई विस्तृत जानकारी गराएका थिए ।