काठमाण्डौ । विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था कार्यान्वयन गरेको नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)मा पुनः विधान संसोधन गरी सो व्यवस्था हटाउने चलखेल सुरु भएको छ । 

विगतमा अधिकांश पूर्व अध्यक्ष र केही पूर्व पदाधिकारीको विरोधका बाबजुद वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाका लागि विधान संसोधन गरेको महासंघमा पुनः विधान संसोधनको बहस घनिभूत बन्दै गएको हो । 

विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था खारेजीको योजनासहित महासंघका सदाबहार खेलाडी ठानिएका चण्डीराज ढकालले खालि भएको जिल्लानगर उपाध्यक्षमा किशोर प्रधानलाई ल्याएका थिए । निरक केसीलाई फराकिलो मत अन्तरले पराजित गरी जिल्लानगर उपाध्यक्ष भएका किशोर प्रधानले समेत ढकालको योजना अनुसार विधान संसोधनका लागि जिल्ला जिल्लामा लविङ थालेका छन् ।

उनले पछिल्लो समय पूर्वका जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमार्फत विधान संसोधन गरी आफू अध्यक्ष बन्ने बाटो बनाइरहेका स्रोतको दाबी छ । चण्डीराज ढकाल समूहले शेखर गोल्छालाई कुनै पनि हालतमा अध्यक्ष बन्न नदिने भन्दै किशोर प्रधानलाई भावी अध्यक्षको रुपमा अगाडि सारेको हो । 

महासंघमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगर शक्तिशाली मानिन्छ । जिल्लानगरमा प्रभाव जमाएकै कारण चण्डीराज ढकाल लामो समयदेखि महासंघमा शक्तिशाली पात्रको रुपमा स्थापित छन् । उनले महासंघमा आफूले जे चाह्यो, त्यो हुन्छ भन्ने मान्यता स्थापित गर्दै आएका छन् । भवानी राणालाई अध्यक्ष बनाउनेदेखि लिएर किशोर प्रधानलाई जिल्लानगर उपाध्यक्ष बनाउने योजनामा समेत उनी सफल देखिएका छन् । 

महासंघका हरेक निर्णयहरुमा शक्तिशाली बन्दै आएका ढकालको पछिल्लो समय गोल्छा समूहसँग सम्बन्ध चिसिएको छ । यहीकारण समेत उनी किशोर प्रधानलाई अध्यक्ष बनाएर गोल्छालाई देखाइदिने योजनामा छन् । ढकालको यही योजनाका कारण प्रधान विधान संसोधनको माहौल तयार गर्न जिल्ला तथा नगरमा सक्रिय देखिएका स्रोत बताउँछ । 

उपाध्यक्ष प्रधान जिल्ला र नगरस्थित शाखाहरुसम्म पुुगी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाले विकृति ल्याएको भन्दै पहिलाकै प्रणाली ठीक रहेको र सोही अनुसार विधान संसोधन गर्न सकिए आफूलाई अध्यक्ष बन्ने बाटो खुल्ने भन्दै सहयोगको याचना गरिरहेका एक उद्योगीले बताए । ‘प्रधान जिल्लानगर उपाध्यक्ष भएपछि नै विधान संसोधनको मुद्धा निकै धेरै बहसमा ल्याइएको छ ।’ ती उद्योगीले भने–‘यसरी हेर्दा महासंघको विधान पुनः संसोधन हुने र गोल्छाको महासंघ अध्यक्ष बन्ने सपना पूरा नहुने माहौल बन्दै गएको छ ।’ 

गोल्छाको स्वभावले प्रधानलाई फाइदा
स्रोतहरुका अनुसार वरिष्ठ उपाध्यक्षको रुपमा निर्वाचित भएपछि शेखर गोल्छाले जिल्ला तथा नगरका मतदाता तथा उनीहरुका समस्यालाई बेवास्ता गर्ने गरेका आरोप लाग्ने गरेको छ । वरिष्ठ उपाध्यक्ष भएपछि काठमाण्डौमा मात्र सीमित हुने, जिल्लानगरमा नजाने, जिल्लानगरका उद्योगी व्यवसायीको समस्याको बिषयमा समेत उनले चासो नदिने गरेका आरोप लाग्ने गरेको छ । 

‘वरिष्ठ उपाध्यक्ष भएपछि गोल्छाको भाउ निकै बढेको छ ।’ कैलालीका एक उद्योगीले भने–‘हाम्रो फोनको रेसपोन्स गर्दैनन्, अन्य धेरै साथीहरुको गुनासो समेत उस्तै छ । हामीले नै उनलाई जितायौं, तर जितेपछि उनी राजा जस्तै बन्न खोजे, उनी अध्यक्ष भएर जिल्लाका उद्योगी व्यवसायीको हितमा काम गर्छन भन्ने विश्वास टुट्दै गएको छ।’ 

जिल्लानगरका मतदाता(उद्योगी व्यवसायी)लाई रेसपोन्स नगर्ने गोल्छाको स्वभावजन्य कमजोरीमा प्रधान समूहले खेलिरहेको बताइएको छ । ढकाल र प्रधान भने जिल्लानगरका उद्योगी व्यवसायीबीच समेत लोकप्रिय नै मानिन्छन् । उनीहरु जिल्लानगरका कसैलाई समस्या पर्दा त्यसमा साथ दिने काममा समेत लाग्ने गरेका छन् । तर, त्यसको ठीक विपरीत गोल्छाले पनि उद्योगी व्यवसायीलाई रेसपोन्स नगर्दा उनीविरुद्ध आक्रोश बढिरहेको व्यवसायीहरु बताउँछन् । ‘गोल्छाको घमण्डी र अव्यवहारिक स्वभाव नै उनको अध्यक्ष बन्ने बाटोका लागि अवरोध बन्न सक्ने देखिन्छ ।’ उनीदेखि रिसाएका उद्योगीहरु आफ्नो विश्लेषण सुनाउँदै भन्छन्–‘निर्वाचनको बेला पैसा खर्च गरेर भोट किन्न सकिन्छ, अरुबेला किन रेसपोन्स गर्ने भन्ने गलत मान्यता गोल्छा समूहमा देखिन्छ । पैसाले मात्र चुनाव जितिदैन ।’

किशोर प्रधानलाई नै किन अध्यक्ष बनाउने ?
विधान संसोधनको माहौल एकाएक बन्दै जाँदा अर्को एउटा समूहले किशोर प्रधानलाई अध्यक्ष बनाउन नहुने बहस समेत चलाएको छ । पहिला विधान संसोधन गरी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था कार्यान्वयनमा ल्याउनुुहुुन्न भन्ने पक्षमा रहेका पूर्वअध्यक्ष र केही पूर्व पदाधिकारीहरु उद्योगी व्यवसायीको छाता संगठनमा प्रधान भन्दा प्रभावशाली व्यक्ति यदि पहिलाकै व्यवस्था कायम भएका अध्यक्ष बन्नुुपर्ने बहसमा रहेका बुझिएको छ । 

‘विधान पुनः संसोधन भई पहिलाकै व्यवस्था कायम हुनुु भनेको हामीले उठाउँदै आएको मान्यता जित हुनुु हो ।’ एक पूर्व अध्यक्षले भने–‘यस्तो अवस्थामा महासंघका सबैलाई मिलाएर लैजानसक्ने, महिनौदेखिको तुुषलाई समेत समाधान गर्नस्क्ने क्षमता भएको व्यक्तिले महासंघको नेतृत्व हाँक्नुुपर्छ ।’

महासंघमा ढकाल वा अन्य कुनै समूहको चलखेल चलिरहने, उनीहरुले जे चाह्यो त्यो भइरहने वातावरण समेत अन्त हुनुपर्नेमा ती पूर्व अध्यक्षको जोड छ । ‘यदि विधान संसोधन भयो भने महासंघबाट टाढा रहेका हामी समेत फर्किनेछौ ।’ उनले थपे-'महासंघलाई बलियो बनाउने र उद्योगी व्यवसायीलाई एक ढिक्का बनाउने हो भने विधान संसोधन हुनुपर्छ र त्यसपछि नेतृत्व समेत सर्वस्वीकार्य छानिनुपर्छ ।’