काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ । 

मुलुकको एकमात्र सो अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप नियन्त्रण गरी यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको हो । 

विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा सेवाको शुभारम्भ भएको घोषणा गर्दै एयर ट्राफिक व्यवस्थापनमा गम्भीर भएर काम गर्न सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो । 

“हाम्रो उद्देश्य विमानस्थल २१ घण्टा हँुदै २४ घण्टा सञ्चालन गर्ने हो, हाललाई २१ घण्टा पूर्णरुपमा सञ्चाल हुनुपर्छ, उड्डयन सेवालाई चुस्त र प्रभावकारी तुल्याउन सबै निकाय सकारात्मक र समन्वयात्मक ढंगले परिणाम निक्लनेगरी काम गर्नुस, विभिन्न बहानामा अब पनि उम्कने छुट कसैलाई छैन,”–उहाँले भन्नुभयो । 

पर्यटनमन्त्री अधिकारीले हालको आठ घण्टे कार्य समयबाट देशको विकास संभव नहुने बताउँदै भिन्न सिफट्मा २४ सै घण्टा कार्यक्षेत्र बनाई कम्तीमा हवाई क्षेत्र, पर्यटन उद्योगले सुरुवाती पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

मुलुकको प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउन उपलब्ध स्रोत साधन तथा पूर्वाधारको उच्चतम प्रयोग गरी व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याइनुपर्ने उहाँले बताउनुभयो । 

मन्त्रालय मातहत निकायले दैनिक कार्यप्रगति पेश गर्नुपर्ने 

पर्यटन मन्त्रालय मातहतका महाशाखा, निकायले दैनिक कार्यसञ्चालनको प्रगति मन्त्री र सचिवसमक्ष पेश गर्नुपर्ने भएको छ । 

पर्यटनमन्त्री अधिकारीले दैनिक के कस्ता काम भए, कुन काममा बाधा व्यवधान आयो, सोको विवरण बुझाउने व्यवस्था आजैबाट सुरु गर्न सम्बन्धीत निकायलाई निर्देशन पनि दिनुभयो । 

“भैराछ भन्ने प्रवृत्तिले अब चल्दैन’ उहाँले भन्नुभयो, अन्तर्राष्ट्रिय उडान होल्ड गरे अब कानुनी कारबाही हुन्छ ।” 

सबै निजी एयरलाइन्स सरकारी नियममा चल्नुपर्ने र यदि त्यसो नभए उनीहरुको विमानस्थलबाट सेवा सञ्चालन गर्न नसक्ने मन्त्री अधिकारीको भनाइ छ । 

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विमानस्थलको २१ घण्टे सेवाको प्रभावकारी सञ्चालनका लागि मन्त्री, सचिव र महानिर्देशकबाट बेलाबखत अनुगमन गरिने र काममा लापर्वाही गर्नेलाई कानूनी कारबाही गरिने अठोट व्यक्त गर्नुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले विमानस्थल २१ घण्टा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनलगायत सबै तयारी पुरा भएको उल्लेख गर्नुभयो । 

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

भन्सार विभागका महानिर्देशक तोयम राय र अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लले विमानस्थलको २१ घण्टे सेवालाई व्यवस्थित र सुदृढ बनाउन हरतर्फले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ । 

यसैबीच विमानस्थल प्रस्थान गर्ने मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश गर्नमात्रै दिइनेछ भने बाहिरिनका लागि सिनामंगलतर्फ निर्माण भएको नयाँ गेट प्रयोग गर्नुपर्नेछ । 

उक्त गेट तथा पार्किङस्थलको समेत पर्यटनमन्त्री अधिकारीले आजै उद्घाटन गर्नुभयो । 

यस्तै अग्नि नियन्त्रणका लागि ‘कमाण्ड कार’ समेत सञ्चालनमा ल्याइएको छ । विमानस्थलको आन्तरिकतर्फ यात्रु र सामान ल्याउने सडकलाई एकतर्फी गरिएको छ । यसअघि एउटै बाटोबाट गाडी आउने र फर्कने गर्थे भने अब फर्कने अर्कै सडकको व्यवस्था गरिएको छ । 

मालसामान जाँचका लागि ‘सेक्युरिटी स्क्रिन प्रणाली’ सञ्चालनमा ल्याइएको छ ।