काठमाण्डौ । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जर सम्झौता हुन्छ या हुँदैन भन्ने बिषय टुंगो लाग्ने समय फेरि एक महिना पछाडि धकेलिएको छ । 

यसअघि जेठ दोश्रो सातासम्म डिडिए सकिने र त्यसपछि एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जर सम्झौता भई काम अगाडि बढ्ने भनिएको थियो । तर, डिडिएमा संलग्न विदेशी कम्पनीले थप एक महिना समय मागेपछि अब छिटोमा असार १५(जुन महिनाको अन्तिम)सम्म मात्र डिडिए रिपोर्ट आउनेछ । 

एभरेष्ट बैंकस्थित उच्च स्रोतका अनुसार दुई बैंकबीच मर्ज भई १६ अर्ब बढी चुक्तापूँजी भएको पहिलो वाणिज्य बैंक बन्ने र बजारलाई डोमिनेन्ट गर्ने ठूलो उद्देश्यका साथ एभरेष्ट र लक्ष्मी बैंकको हाल डिडिए भइरहेको छ । एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व रहेको पञ्जाब नेशनल बैंकको इच्छाअनुसार इन्टरनेशनल एकाउन्टेन्सी फर्म(इएनवाई) नामको कम्पनी र लक्ष्मी बैंकको तर्फबाट एक स्वदेशी कम्पनीले डिडिएको कामलाई तीव्र रुपमा अगाडि बढाएका छन् । यही क्रममा इएनवाईले एक महिना थप समय मागेपछि मर्जरको कुरा टुंगिन थप समय लाग्ने भएको बताइएको छ । 

यसअघि दुवै बैंकका ठूला सेयरहोल्डरहरुले सम्पति तथा दायित्वको मूल्याङ्कन(डिडिए) अगाडि नै सेयर स्वाप रेसियोमा मोलमोलाई गर्न खोज्दा त्यसबेलाको मर्जरको कुरा हल्लै हल्लामा सीमित भएको थियो । तर, यसपटक भने मिलेसम्म दुई बैंकबीच मर्जर गरेरै छाड्ने उद्देश्यसहित काम भइरहेको छ ।  

‘अब एक महिनाभित्र डिडिएको काम सकिन्छ ।’ बंैकस्थित उच्च स्रोतले बिजशालासँग भन्यो–‘त्यसपछि मर्जरले गति लिनेछ र हामी  एमओयू गर्नेछौ ।’ 

स्रोतका अनुसार दुवै बैंकका अधिकारी डिडिए रिपोर्टलाई सहर्ष स्वीकार गरेर मर्जरको सम्झौता गर्ने मूडमा छन् । ‘अन्य बैंकहरुले जस्तो डिडिए अगाडि नै सेयर स्वाप अनुपात तोकेर मर्जरमा अगाडि बढ्नुभन्दा हामीले पहिला डिडिए गर्ने र त्यसबाट निस्किने रिपोर्टका आधारमा अगाडि बढ्ने रणनीति लिएका हौ ।’ एक अधिकारीले भने–‘योपटक मर्जर गर्नैका लागि भनी काम अगाडि बढाइएको हो, अघिल्लोपटकजस्तो हल्लामा सीमित हुँदैन।’ 

ती अधिकारीका कुरालाई मान्ने हो भने यो पटक साच्चिकै मर्जर गर्ने उद्देश्यले दुवै बैंक अगाडि बढेका छन् । 

जारी डिडिएको काम सकिएपछि दुवै बैंकबीच मर्जरको सम्झौता हुनेछ । त्यसपछि दुवैले विशेष साधारणसभा बोलाई मर्जरको प्रस्ताव पारित गर्नेछन् र नेपालकै धेरै पूँजी तथा व्यवसाय गर्नसक्ने बलियो बैंकको आधिकारिक स्थापना हुनेछ ।

अरु बैंक पनि मर्जरमा जाने !
राष्ट्रबैंकले समेत एभरेष्ट र लक्ष्मी बैंकको मर्जरलाई टुंगोमा पुग्ने गरी भूमिका निर्वाह गरिरहेको छ । यी दुई ठूला बैंकलाई एक बनाउन सकेमा यसैलाई उदाहरणको रुपमा स्वीकार गरी राष्ट्रबैंकको नेतृत्वले वाणिज्य बैंकहरुका लागि नयाँ चुक्तापूँजीको सीमा तोक्नेछ र कडा मर्जरको नीति ल्याउने स्रोतको दाबी छ । ‘कडा भनेको यसपटक हकप्रद सेयर जारी गरेर तोकिएको चुक्तापूँजी पुर्याउन पाइनेछैन ।’ राष्ट्रबैंकस्थित उच्च स्रोतले बिजशालासँग भन्यो–‘मर्जर वा एक्वीजिसनबाटै १५ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने नयाँ व्यवस्था मौद्रिक नीतिबाट आउने संभावना छ ।’

यसो भएको खण्डमा अन्य वाणिज्य बैंकहरु समेत आपसमा मर्जरमा जाने र त्यसपछि मुलुकमा १५ वटाको हाराहारीमा मात्रै बैंकको संख्या रहने बताइन्छ । थोरै संख्याका  बलिया बैंकले बजारको मागलाई सहजै ह्याण्डल गर्नसक्ने र त्यसपछि बैंकको नाममा हुने अस्वस्थ प्रतिस्पर्धा कम भई स्वस्थ प्रतिस्पर्धाले नयाँ उभार सिर्जना गर्ने कतिपयको विश्लेषण छ । 

एभरेष्ट र लक्ष्मी बैंकबीचको  मर्जर सफल भएको खण्डमा यसले अन्य बैंकहरुलाई समेत मर्जरमा जान, पूँजीको आधार बढाउन दवाब पुग्नेछ । त्यस्तो अवस्थामा अन्य वाणिज्य बैंक समेत मर्जरमा जार्नैपर्ने बाध्यतामा पर्ने समेत कतिपय अधिकारीहरुको विश्लेषण छ । किनभने  पूँजीको आधार कमजोर हुने बैंकहरु प्रतिस्पर्धामा टिक्ने छैनन्।