काठमाण्डौ । तीन महिनाको अवधिमा दोश्रो बजार मूल्य सत्प्रतिशतभन्दा बढीले वृद्धि भई केही करेक्सन व्यहोरेको जानकी फाइनान्स नेप्से परिसूचक साइडवेजमा चलिरहँदा समेत अपर ट्रेण्ड समातेर कुदिरहेको छ । पहिला खेलाडीले चलाएको यो स्क्रिप्टमा पछिल्लो समय अन्य लगानीकर्ताले समेत ध्यान दिइरहेका पाइएको छ । बजारमा नेपाल फाइनान्ससँग तुलना गरेर जानकी फाइनान्सको मूल्य माथि उठ्न सक्ने भन्दै गुपचुप सेयर जम्मा गर्नेहरुको समेत कमी देखिन्न । कतिपयले भने फाइनान्स कम्पनीहरु कमजोर रहेका र यस्ता सेयरमा लगानी गर्नु जोखिमपूर्ण हुने पनि ठान्छन् । फलस्वरुप अन्य फाइनान्समा खासै आकर्षण बढ्न नसकिरहेको बेला जानकी फाइनान्सले भने आफ्ना मुख्य वित्तीय सूचकमै आमूल सुधार गरी कारण र आधारसहितको अपर ट्रेण्डको यात्रा समातेको देखिन्छ ।
जानकी फाइनान्सको सेयरमा लगानीकर्ता आकर्षित हुँदै जानु पछाडिको मुख्य कारण नै यसले गरिरहेको सुधारलाई लिन सकिन्छ । यो कम्पनीले पछिल्लो समय मुख्य वित्तीय सूचकहरुमा छलाङ मारिरहेको छ । समग्र वित्तीय क्षेत्रकै लागि टाउको दुखाईको विषय बनिरहेको खराब कर्जाको व्यवस्थापन, अनुपात सुधार र रिकभरिमा यो कम्पनीले उल्लेख्य प्रगति गरेको उसकै रिपोर्टले बताउँछ ।
हेरौं मुख्य सूचकको प्रगति
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससँग तुलना गरेर हेर्दा जानकी फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा निकै ठूलो छलाङ मारेको देखिन्छ । अघिल्लो वर्ष ४ लाख ३६ हजारमा सीमित यो कम्पनीको नाफा बढेर यो वर्ष ६ करोड ९० लाख पुगेको छ । यसरी हेर्दा नाफामा १५८ गुणाको फड्को मारेको देखिन्छ ।
चुक्तापूँजी ६९ करोड रहेको कम्पनीले पहिलो त्रैमासमै ७ करोड हाराहारीमा नाफा कमाउनु उत्साहजनक नै हो । बाँकी त्रैमासमा पनि नाफाको यो रफ्तारलाई कम्पनीले कायमै राख्न सकेमा ‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तो जानकी फाइनान्सले आफ्ना सेयरधनीलाई नसोंचेको रिटर्न दिनसक्छ ।
जानकी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार शर्माले बिजशालासँग कुरा गर्दै चालु आर्थिक वर्षको नाफाबाट कम्पनीले लगानीकर्तालाई कम्तीमा २० प्रतिशत लाभांश सहजै दिनसक्ने दबी गरे । 'हामीलाई अप्ठ्यारो पारेको भनेको पुँजीकोष अनुपातले मात्र हो, बाँकी सबै सूचकमा आमूल सुधार गरेका छौं ।' शर्माले भने-'चुक्तापूँजी पुगेको छैन, हामीले बोनस सेयरबाट नै १ अर्ब पुँजी पुर्याएर राष्ट्रिय स्तरमा बिस्तार हुने योजना बनाएका छौं ।'
उनले मधेश प्रदेशमा ५ शाखामा मात्र सेवा सीमित भएका कारण राम्रो प्रगति गर्दागर्दै पनि जानकी फाइनान्स गुमनामजस्तो भएको दुखेसो पोखे । उनले भने-'काठमाण्डौले हामीलाई पनि माया गर्न पर्यो । अन्य फाइनान्सको तुलनामा हाम्रा धेरै सूचकमा आमूल सुधार भएको छ । तर मोफसलमा भएका कारण यसको चर्चा नै भएन ।'
पहिलो त्रैमासमा कम्पनीको खराब कर्जा अनुपात ३४.६४ प्रतिशत रहेको छ । यो भनेको जोखिमपूर्ण अवस्था हो । तर, सीइओ शर्माको भनाईलाई आधार मान्ने हो भने व्यवस्थापनले पछिल्लो २ महिनाको अवधिमा रिकभरिमा मुख्य ध्यान लगाएका कारण खराब कर्जा घटाएर २२ प्रतिशत हाराहारीमा झारिसकेको छ । 'हाम्रो लोन असूलीमा ठूला वित्तीय संस्थालाई जस्तो कठीन छैन । हामीले एउटा पनि लोन गुड्विल वा विजिनेश बेस्ड भएर दिएका छैनौं । धितो लिएका लोनहरुमा पनि अधिकांश मूल्याङ्कनको अधिकतम ५० प्रतिशत हाराहारीमा मात्र प्रवाह गरेका छौं । त्यसकारण हामीलाई अरुलाईजस्तो ठूलो चिन्ता छैन ।' शर्माले भने-'लोन सेटलमेन्टमा हाम्रो सबै शक्ति लगाएका छौं । सबै कुरा भनेजस्तो भइदियो भने यो आ.ब.को अन्त्यसम्म हामी चमात्कार गर्नेछौं, हेर्दै गर्नुहोला ।'
आफूहरुले लोन दिँदा लिएका धितोहरु निकै बलिया रहेका र सोही कारण अहिले रिकभरिमा पनि राम्रो सुधार भइरहेको समेत उनले दोहोर्याए । 'उदाहरणका लागि १ करोडको मूल्यका कतिपय धितोमा त हामीले २५ लाख मात्र लोन दिएका छौं । बोर्डकै पनि बलियो धितो मात्र लिनू भन्ने निर्देशनले समेत हामीलाई केही सहज भएको जस्तो लाग्छ । बलियो धितो हाम्रो सबैभन्दा पोजिटिभ पक्ष पनि हो।' उनले भने-'राम्रो धितो लिएकै कारण पहिला ठप्प जस्तो रहेको ऋण असूली तीव्र गतिमा भइरहेको छ । हामी उत्साहित छौं ।'
कम्पनीको खूद नाफा बढेसँगै सेयर बजारका लगानीकर्ताले हेर्ने अर्को मुख्य सूचक वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) पनि ४० रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ६० पैसामा सीमित थियो । जानकी फाइनान्सको इपीएस फाइनान्सहरुमध्येकै मात्र नभई सम्भवतः वित्तीय संस्थाहरुमध्येकै बढी पनि हो ।
कम्पनीले एकातिर खराब कर्जाको अनुपात घटाउन निकै जोडबल गरिरहेको देखिन्छ भने निक्षेप संकलनमा उत्साहजनक वृद्धि छ । रिजर्भको आकारमा उस्तै फड्को मारेको कम्पनीको कर्जा बिस्तार पनि सन्तोषजनक नै देखिन्छ ।
कम्पनीका सीइओको दाबीलाई आधार मान्ने हो भने जानकी फाइनान्सको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको अन्त्यसम्म सिंगल डिजीटमा झरिसक्नेछ । त्यसो हुँदा अहिले प्रभिजनमा राख्नुपरेको नाफाको ठूलो रकम समेत फिर्ता भई लाभांश वितरणमा प्रयोग गर्न पाइन्छ। यस्तो भयो भने आगामी दिनमा जानकी फाइनान्सले नसोंचेको प्रगति गर्नसक्ने सम्भावना देखिन्छ ।
मधेश प्रदेशमा रहेर वित्तीय सेवा दिने र यो क्षेत्रको सबैभन्दा ठूलो करदाताको सम्मान पाउँदै आएको जानकी फाइनान्सका सीईओ शर्माले हाल ६९ करोडको चुक्तापूँजीलाई ८० करोड पनि बोनस सेयरबाटै पुर्याउने दाबी समेत गरे ।
इलिअटको पाँचौं वेभमा मूल्य १८०० सम्म पुग्नसक्छ !
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय बर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।
माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।
यो कम्पनीको सेयर मूल्यलाई हाल बनाएको चक्रको आधारमा यदि यसले पछिल्लो पल्टको उच्च बिन्दु १ हजार ७५ लाई भोलुमसहित बे्रक गरेर माथि जान्छ भने त्यो तेस्रो वेभको निरन्तरता लिन सक्छ । त्यो भनेको यो कम्पनीको मूल्य थर्ड वेभमा नै १३३४ सम्म पुग्न सक्छ । चौंथो वेभमा करेक्सन भएर १०७६ सम्म पनि आउन सक्छ । त्यस पछि पाँचौ वेभको बढोत्तरीमा यो कम्पनीको सेयर भाउ १ हजार ८ सय सम्म पनि पुग्न सक्छ । यसको लागि हाल ९३२ मा बन्द भएको यो कम्पनीको सेयर भाउले एक हजार ७५ को प्रतिरोधलाई भने ब्रेक गरेर माथ लाग्नै पर्छ ।
बैकल्पिक रुपमा अर्को सम्भवना भनेको यदि एकहजार ७५ को प्रतिरोधलाई ब्रेक गर्न सक्दैन भने एबीसी करेक्सन भएर कम्पनीको सेयर भाउ ७७५ सम्म पनि आउनसक्छ ।
(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यस्ता बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)