काठमाण्डौ । यस आर्थिक वर्षको अन्तिम दिन सेयर बजार ३५ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक र कारोबार ४ महिनापछिकै कायम भएको छ । समग्रमा यो आर्थिक वर्षमा सेयर बजारको अवस्था सन्तोषजक नै रह्यो ।
यो आर्थिक वर्षको बजारको अवस्था र आगामी आवमा बजारले तय गर्ने दिशाका बारे हामीले केही बजार जानकारहरु तथा प्राविधिक बिश्लेषकहरुसँग जिज्ञासा राखेका छौ ।
नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार आगामी आर्थिक वर्ष पनि लगानीकर्ताका लागि महत्वपूर्ण हुने बताउँछन् । आव २०८१/८२ को चौथो त्रैमासिक प्रतिवेदन पनि आँउदै गरेको अवस्थामा बैंक तथा वित्तीय क्षेत्रको रिपोर्ट सुधार भएर आउने उनले विश्लेषण गरे । नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति अपनाएका कारण बैंक तथा वित्तीय संस्थाको रिपोर्ट राम्रो आउने उनको तर्क छ ।
‘पूँजीबजारलाई सपोर्ट गर्ने नीति आएको छ । ब्याजदर पनि घटेको छ । लगानीकर्ताहरुलाई अब ब्याज बढ्ला भन्ने पीर पनि छैन । अब ढुक्कले लगानी गर्ने अबसर छ । अब छिट्टै लाभांशको सिजन पनि सुरु हुँदैछ,’ उनले भने, ‘आज १४ अर्ब माथिको कारोबर हुनु पनि सकारात्मक बिषय हो । अब पूँजीबजारबाट गुमेको १५ खर्ब रुपैयाँ फिर्ता हुन्छ ।’
मौद्रिक नीतिमा बैंकहरुलाई बलियो बनाउने तथा माइक्रो फाइनान्सका लागि पनि सहज नीति आाएको उनले बताए । सरकारले घरजग्गालाई बढावा दिने सहज नीति लिएकाले यसले पनि पूँजीबजार र अर्थतन्त्रमा टेवा पुग्ने रौनियारको तर्क छ । उनले अहिले ढुक्कले लगानी गर्ने अवसर रहेको र आगामी आर्थिक वर्ष पूँजी बजारमा राम्रो सुधार देखिने अपेक्षा गरे ।
त्यसैगरी, प्राविधिक जानकार समेत रहेका अजयसिंह थापा (जय शम्भु) भन्छन्, ‘समग्रमा यो बर्ष पूँजीबजारको लागि राम्रो नै रह्यो । आगामी बर्ष पनि राम्रो नै रहन्छ । आगामी आर्थिक वर्षमा बजारले एकपटक हालसम्मकै उच्च विन्दु चुम्न पनि सक्छ । तर बजार अब २७६० भन्दा तल जाँदैन ।’
बजार बढेता पनि सबै क्षेत्र नबढ्ने र सबै रिटेल लगानीकर्ताले सेयर बजारबाट पैसा कमाउन नसक्ने दाबी थापाको छ । ‘सेयर बजारबाट सधैं स्मार्ट लगानीकर्ताहरुले मात्रै पैसा कमाउने हो । यस बर्ष निर्यात र रेमिट्यान्स बढेको छ र घरजग्गाका लागि सहज नीति जस्ता विषयले पूँजी बजारलाई सहज नै हुने देखिन्छ,’ उनले भने, ‘तर बजारमा हकप्रद तथा संस्थापक सेयरको सप्लाइका कारण यो वर्ष पनि पूँजीबजारले सोचेजस्तो फड्को मार्न सकेन ।’
उनले आगामी वर्ष पनि यी चुनौति कायमै रहने बताए । थापाका अनुसार प्राविधिक रुपमा इलिअट वेभबाट नियाल्दा हाल बजारमा चौथो वेभ नै चलेको भन्न सकिन्छ । बजार २९ सय भन्दा तल रहुन्जेल पाँचौ वेभ चल्यो भन्न हतार हुनसक्ने पनि उनको बुझाई छ ।
त्यसैगरी, नेपाल पूँजी बजार लगानीकर्ता संघका महासचिब एसपी चौलागाई पनि आगामी आर्थिक वर्ष पूँजीबजारका लागि सुनौलो हुने बताउँछन् । चौलागाईको बिचारमा नेपाल राष्ट्र बैंकले सबै क्षेत्रलाई समेटेर मौद्रिक नीति ल्याएका कारण पूँजीबजार चलायमान हुने देखिन्छ । उनले उदाहरण दिंदै भने ‘जसरी पानीको कुवा भरिन वरिपरिको वातावरण भरिभराउ हुनुपर्छ त्यसरी नै पूँजीबजार चलयमान हुन पनि उद्योगी व्यवसायी , घरजग्गा ब्यवसायी जस्ता व्यवसायिक अनुकुल नीति हुनु आवश्यक छ ।’
जुन विषय अहिलेको मौद्रिक नीतिले समेटेको कारण सेयर बजारले उचाई चुम्नेमा कुनै शंका नरहेको उनको अनुमान छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।