काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट बाहिरिँदै नाफा आर्जन गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ३ करोड ५१ लाख घाटामा थियो ।
संस्थाको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेको छ । संस्थाले १५ करोड ५३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
संस्थाको कुल सञ्चालन आम्दानी १७ करोड ९४ लाख र सञ्चालन मुनाफा ४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
संस्थाले सम्भावित घाटाका लागि १ करोड ८ लाख रुपैयाँको व्यवस्था गरेको छ । यो अवधिमा संस्थाको रिजर्भको आकार ३३.३२ प्रतिशतले बढ्दै १३ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
यस्तै १ अर्ब ४० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब ४५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २.१३ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.८५ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ३२.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९०.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ८२२.८२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०५.०७ गुणा र तरलता अनुपात २४.०५ प्रतिशत कायम भएको छ ।